निरज यादव/प्रदेशपालिका
२५ असार, सर्लाही ।
लगातारको वर्षाले तरकारी बाली गालेपछि जिल्लाका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना, सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गलाएर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसान समस्यमा परेका हुन् ।
बारीमा रोपिएका भ्यान्टा, खोर्सानी र अरु तरकारीका बोट वर्षाको पानीले सोत्तर बनाएको छ । त्यसैगरी रायो, लट्टे र अन्य सागका बिरुवा लतारिएका छन् । घिरौंला, लौका, चिचिण्डा, काँक्रा, परवल र करेलासहितका तरकारीका हरु पनि लगातारको पानीले गलाएर पहेंलिएका छन् ।
असार लागेदेखि परेको पानी र पछिल्ला तीन दिन यताको निरन्तरको वर्षाले यसपाली बर्खे र भदौदेखि उत्पादन दिने दुबै तरकारी खेतीबाट हात धुने अवस्था बनेको किसानको दुखेसो छ । सर्लाही सबैजसो भेगमा गत बुधवार देखि लगातार पानी पर्दै आएको छ ।
‘तरकारीका बोट पानीले गलाएर पँहेलिएका छन्, तरकारीका बोट पानीले सोत्तर बनाएर लडाएको छ,’ जिल्लाको गोड़ैता नगरपालिका–४ का किसान गङ्गाराम महतोले भने, ‘खेतबारी गिलिएर जोतखन र गोडमेल गर्न नसकिने भएको छ, अब तरकारीबाट आस म¥यो ।’
सधैंजसो भदौपछि लगालगी पर्ने चाडपर्वलाई लक्षित गरी लगाइने तरकारी खेती यसपालि लगातारको वर्षाले गलाएपछि तरकारीको हाहाकार नै हुने र मूल्य आकासिएर सर्वसाधारण उपभोक्ताले किनेर खाने स्थिति नरहने महतोसहितका किसानको भनाइ छ ।
लगातारको वर्षाले तरकारी बाली खेतबारीमै गलाएपछि किसान पिरोलिनेसँगै बजारमा तरकारीको मूल्य आकासिएको छ । किसानका खेतबारीमा तरकारी नभएपछि बजारु उपभोक्ता पनि महङ्गाइको मारमा परेका छन् । लगातारको वर्षाले हातमुख जोर्ने काम अत्यन्त महङ्गो भएको सर्वसाधारण तथा उपभोक्ता बताउँछन् ।
सर्लाहीका स्थानीय तहको आँकडाअनुसार जिल्लामा ८ हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिने गरिन्छ ।