२५ असार काठमाडौं ।
सरकारले चीनबाट खरिद गरेको कोरोना भाइरसबिरुद्धको खोप भेरोसेलको पहिलो खेप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खोपको पहिलो खेप लिएर काठमाडौं आइपुगेको हो ।
नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको भेरोसेल खोपको पहिलो खेप ८ लाख डोज खोप लिएर जहाज शुक्रबार बिहान ६ बजेर १६ मिनेटमा त्रिभुवन विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा. समीरकुमार अधिकारीका अनुसार चीनबाट ल्याइएको खोप अर्र्को हप्तादेखि लगाउन शुरु गरिनेछ । यो खोपको पहिलो डोज ५५ वर्षमाथिका नागरिकलाई दिने सरकारको तयारी छ ।
सरकार–सरकार (जीटुजी) ननडिस्क्लोजर एग्रिमेन्ट अर्थात गोप्य सम्झौता गरेर चीनबाट ४० लाख डोज खोप ल्याउन लागेको छ । त्यसैको पहिलो खेपमा ८ लाख डोज खोप ल्याइएको हो । अर्काे खेपकाे खाेप लिन निगमकाे जहाज असार ३१ गते चीन जानेछ र खोप लिएर साउन १ गते काठमाडौं फर्किनेछ ।
यस्तैगरी तेस्रो पटक खोप लिन विमान साउन ७ गते चीन जानेछ । उक्त विमान खोप लिएर भोलिपल्ट अर्थात साउन ८ गते नेपाल फर्कनेछ । खोप ल्याउने जिम्मा पाएको नेपाल वायुसेवा निगमले भाडाबापत सरकारसँग प्रतिघन्टा १४ हजार डलर हाराहारीका दरले भाडा लिनेछ ।
नेपालमा हालसम्म २६ लाख ११ हजार ८ सय ७ जनाले कोभिड–१९ बिरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । तिमध्ये ९ लाख ६४ हजार ५ सय ८ जनाले दोस्रो मात्रा समेत लगाउन पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको असार २५ गते दिउँसो २ बजेसम्मको विवरण अनुसार कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउनेको संख्या १८ लाख २८ हजार ४ सय ८४ रहेको छ । तिमध्ये ४ लाख ६० हजार ७ सय ३४ जनाले कोभिसिल्डको दोस्रो मात्रा लगाइसकेका छन् ।
यस्तैगरी ७ लाख ८३ हजार ३ सय २३ जनाले भेरोसेलको पहिलो खोप लगाएकामा ५ लाख ३ हजार ७ सय ७४ जनाले दोस्रो मात्रा समेत लगाइसकेका छन् ।