आगामी सातासम्मै मनसुन सक्रिय रहने

२५ असार, काठमाडौं ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै तत्काल मौसममा सुधार नहुने जनाएको छ । केही दिनयता लगातारको झरीले बाढीपहिरोका घटना बढिरहेका बेला महाशाखाले यस्तो जानकारी गराएको हो ।

महाशाखाका अनुसार शुक्रबार देशभर मनसुन सक्रिय अवस्थामा छ । आगामी हप्तासम्म नै मनसुन सक्रिय रहने र यसले धेरै स्थानमा वर्षाको सम्भावना बनाएको छ । केही स्थानमा भारी र केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

‘पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले शुक्रबार बिहान भनेको छ ।

शुक्रबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना देखिएको छ भने सुदूरपश्चिम र बागमतीका एक वा दुई स्थानमा धेरै भारी वर्षाको आँकलन गरिएको छ ।

राति पनि प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार शनिबार धेरै स्थानमा पानी पर्नेछ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने प्रदेश १, बागमती र सुदूरपश्चिमका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here