२५ असार, बुटवल ।
बुटवल उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन सुरू गरेको छ ।
मानवअधिकारमैत्री सहरका रूपमा पाँच वर्षे रणनीतिक योजना बनाएर काम गरिरहेको बुटवल उपमहानगरपालिकाले अपाङ्गता लक्षित घरदैलो स्वास्थ्य सेवा भने पहिलो पटक सुरू गरेको हो ।
शारिरीक रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई सामान्य स्वास्थ्य समस्या देखिए पनि अस्पतालसम्म लैजान गाह्रो हुने भएपछि परिवारले उनीहरूको स्वास्थ्यप्रति वेवास्ता गर्ने गर्छन् ।
यही समस्यालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र प्राथमिक तहको स्वास्थ्य सेवा एवं औषधि उपलब्ध गराउने भन्दै घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरू गरेको हो ।
उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी र मनोपरामर्शदाता सहितको टोलीले घरदैलोमै पुगेर उनीहरूको स्वास्थ्य परीक्षण गर्न सुरू गरेको हो ।
उपमहानगरका १९ वटै वडामा रहेका अपाङ्गता भएकाहरूको लगत संकलन गरी उनीहरूको अवस्थाको विश्लेषण गरेर प्राथमिकताका आधारमा घरदैलो अभियान सुरू गरिएको उपप्रमुख आचार्यले बताइन् ।
बुटवलमा विभिन्न १० प्रकारका करिब १ हजार ३ सय ६५ जना अपाङ्गता भएका व्यक्तिहरू रहेको तथ्यांक संकलन भएको छ । अहिले सुरू गरिएको घरदैलो स्वास्थ्य सेवा भने शारिरीक रूपमा अति अशक्त अवस्थाका क र ख वर्गका अपाङ्गता भएकाहरूलाई उपलब्ध गराइने सामाजिक महाशाखा प्रमुख तुलसा अर्यालले जानकारी दिइन् ।
उपमहानगर क्षेत्रमा क र ख वर्गका ३ सय २३ जना अपाङ्गता भएका व्यक्ति रहेको तथ्यांक छ । क र ख वर्गका व्यक्तिहरूलाई सेवा उपलब्ध गराएपछि ग र घ वर्गका लागि पनि सेवा उपलब्ध गराइने अर्यालको भनाइ छ ।
बुटवलले अपाङ्गता भएकाहरूको अवस्था र रुचिको आधारमा विभिन्न सीपमूलक तालिम समेत उपलब्ध गराउँदै आएको उपप्रमुख आचार्यले जानकारी दिइन् ।
नगर अपाङ्गता समन्वय समितिका सदस्य सावित्रा घिमिरेका अनुसार लक्षित वर्गका लागि सहायता सामग्री, उपचार, सीपमूलक तालिम, अभिभावकमा सचेतना तथा छात्रवृत्तिका कार्यक्रम सञ्चालन गरिएको छ ।
त्यस्तै, उपमहानगरभित्र रहेका तीन वटा आश्रमलाई अझ व्यवस्थित बनाउने काम पनि सुरू गरिएको छ ।
बुटवलको उजेलापुर, तामनगर र देवीनगरमा रहेका तीन वटा आश्रममा एक सय बढी अपाङ्गता भएका व्यक्तिहरूले आश्रय लिएका छन् ।
सुस्त मनस्थिति बालविद्या मन्दिरका अध्यक्ष लोकनाथ भुसालले बुटवलले अपाङ्गता लक्षित घरदैलो स्वास्थ्य सेवा सञ्चालन गरेर नमूना काम गरेको बताए ।
बिहीबारदेखि सुरू गरिएको यो अभियानको पहिलो दिन बुटवल १२ नयाँगाउँ भैरहवा टोलका दिदीबहिनी ३६ वर्षीया शीला र २७ वर्षीया सीमा मल्ल, बुटवल १६ मधैयाका १५ वर्षीया कमला पोखरेल तथा बुटवल १६ का दाजुबहिनी ३५ वर्षीय हरि र २८ वर्षीया मिना गौतमको स्वास्थ्य अवस्थाको जाँच गरी आवश्यक औषधी उपलब्ध गराएको सामाजिक महाशाखा प्रमुख अर्यालले जानकारी दिइन् ।
घरदैलो अभियानमा जनस्वास्थ्य अधिकृत उमा थापा, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बुटवलका मेडिकल अफिसर आशीर्वाद अर्याल र शिक्षक सकुन्तला न्यौपानेले सहजीकरण गरेका छन् ।