गर्भवती र शिशूलाई पोसिलो खानेकुराका लागि कपुरकोटको आर्थिक सहयोग

२४ असार, सल्यान ।

जिल्लाको कपुरकोट गाउँपालिकाले गर्भवती तथा दुई वर्षसम्मका बच्चाका लागि पोषिलो खानेकुरा किन्न आर्थिक सहयोग प्रदान गरेको छ ।

गाउँपालिकाले एक हजार तीन सय ९८ जना गर्भवती महिला र दुई वर्षसम्मका बालबालिकाको लागि पौने १७ लाख बढी रकम वितरण गरेको छ ।

सुनौलो हजार दिन कार्यक्रम अन्तरगत पोषिलो खानेकुरा किनेर खानका लागि १६ लाख ७७ हजार ६०० रूपैयाँ वितरण गरिएको छ ।

उसले पौष्टिक खाद्य तत्वसहितको झोला पनि वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए ।

बच्चाको ८० प्रतिशत वृद्धि विकास गर्भावस्थादेखि दुई वर्षका बीचमा हुने हुँदा त्यस्ता महिला तथा बालबालिकाको सन्तुलित भोजनका लागि रकम वितरण गरिएको खड्काले बताए ।

खड्काले भने, ‘गाउँपालिकाका ६ वटै वडामा कर्मचारी खटाएर अण्डा तथा माछामासु किनेर खानका लागि जनही एक हजार र गेडागुडी किनेर खानका लागि जनही दुई सय रूपैयाँ वितरण गरिएको हो ।’

यसैबीच कपुरकोट ३ मा बिहीबार पोषिलो झोला वितरण गर्दै गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले घरमै उत्पादन हुने पौष्टिक तत्व चिन्न र त्यसको अधिकतम प्रयोग गर्न आग्रह गरे ।

गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले सुनौलो हजार दिन अन्तर्गत खास गरेर बच्चामा कुनै पनि किसिमको कुपोषण नदेखियोस् भन्ने हेतुले गाउँपालिकाले पोषण क्षेत्रमा लगानी गरिरहेको बताइन् ।

कपुरकोटका ६ वटै वडाका सुनौलो हजार दिनका महिलाहरूलाई २ किलोको पौष्टिक खाद्यतत्वको झोला वितरण गरिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here