आज र भोलि देशभर बाढीको खतरा, ४० जिल्ला उच्च जोखिममा

फाइल फोटो

२४ असार, काठमाडौं ।

बाढी पूर्वानुमान महाशाखाले आज र भोलि देशभर बाढी आउने जोखिम रहेको जनाएको छ । बिहिबार बाढी पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै महाशाखाले सातै प्रदेशका जिल्लाहरुमा बाढीको सम्भावना रहेको जनाएको छ ।

बुलेटिन अनुसार आज देशका ४० जिल्ला बाढीको उच्च जोखिममा छन् ।

बाढी पूर्वानुमान महाशाखाले जनाए अनुसार आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङ, उदयपुर बाढीको उच्च जोखिममा छन् । अन्य जिल्लामा पनि बाढीको खतरा भने छ ।

त्यस्तै प्रदेश २ मा बारा, पर्सा, रौतहट, सर्लाही र धनुषालाई उच्च जोखिममा राखिएको छ । बाग्मती प्रदेशमा मकवानपुृर, चितवन, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक र सिन्धुलीमा बाढीको उच्च जोखिम छ ।

गण्डकी प्रदेशको तनहुँ, लमजुङ, पर्वत, कास्की, बागलुङ, म्याग्दी र नवलपुर बाढीको उच्च जोखिममा छन् । त्यस्तै लुम्बिनी प्रदेशमा नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, कपिलवस्तु र दाङमा बाढीको उच्च जोखिम छ । कर्णाली प्रदेशमा रुकुमपश्चिम, जाजरकोट, कालिकोट, दैलेख र सुर्खेतमा बाढीको ठूलो खतरा छ ।

सुदूरपश्चिम प्रदेशको कुनै पनि जिल्ला उच्च जोखिममा परेका छैनन् । तर सुदूरपश्चिमका जिल्ला पनि मध्यम जोखिममा भने परेका छन् ।

बुलेटिनमा कोशीका सहायक नदीहरुमा बहाव निकै बढेको र केहीमा सतर्कता तह पार गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here