२४ असार ।
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा जेल सजाय काट्न उनी आफै प्रहरी समक्ष पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि प्रहरीले बुधबार अबेरसम्म आत्मसमर्पण नगरेमा ७९ वर्षका जुमालाई पक्राउ गर्न आफूहरु तयारी अवस्थामा रहेको चेतावनी दिएको थियो ।
क्वाजुलु–नाताल प्रान्त स्थित आफ्नो घर नजिकैको जेलमा उनी बुधबार अबेर गएको उनको फाउन्डेशनले जनाएको छ ।
भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाईका लागि अदालत उपस्थित हुन भनिए पनि नगएका उनलाई गएको हप्ता १५ महिनाको जेल सजाय भएको थियो ।
गएको आइतबार प्रहरी हिरासतमा जान नमानेपछि बुधबार मध्यरातसम्मको अल्टिमेटम दिइएको थियो ।
दक्षिण इफ्रिकाको इतिहासमा पूर्व राष्ट्रपति जेल चलान भएको यो पहिलो पटक हो ।