कोभ्याक्सअन्तर्गत जेन्सेन खोप ल्याइने, एक डोज मात्र लगाए पुग्ने

२३ असार, काठमाडौं ।

कोभिड–१९ विरुद्ध एक मात्रा लगाए पुग्ने ‘जेन्सेन’ खोप नेपाल ल्याइने भएको छ ।

अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित कोभिडविरुद्धको खोप ‘जेन्सेन’ कोभाक्स सुविधाअन्तर्गत अनुदानमा नेपालले पाउन लागेको हो ।

जोन्सनको ‘जेन्सेन एडी२६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो । यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

‘एक मात्रा मात्र चाहिने जेन्सेन खोप नेपाललाई दिने कुरा कन्फर्म भयो,’ स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले भने, ‘कति मात्रा र कहिलेसम्ममा दिने भन्ने कुरा एक सातापछि थाहा हुन्छ ।’

कोभाक्स सुविधाअन्तर्गत नेपालले कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप अनुदान सहयोगअन्तर्गत पाउनेछ । ‘यो खोप अमेरिकी सरकारले कोभाक्सलाई दिने र कोभाक्सको कोटाअन्तर्गत हामीकहाँ आउने हो,’ उनले भने ।

जेन्सेन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन ।

विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ । हालसम्म यो खोपको एउटै मात्रा प्रस्ताव गरिएको छ । अतिरिक्त मात्राको आवश्यकता र समयबारे क्लिनिकल ट्रायलअन्तर्गत अध्ययन जारी छ । जोन्सनको विज्ञप्तिअनुसार यो खोपलाई माइनस २० डिग्री सेल्सियसको तापक्रममा दुई वर्षसम्म सुरक्षित राख्न सकिन्छ भने २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा बढीमा ३ महिनासम्म राख्न सकिन्छ ।

यो खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा वितरण गरिएपछि पुनः निम्न तापक्रममा राख्न मिल्दैन । गम्भीर एलर्जीको समस्या भएका व्यक्तिले यो खोप लगाउनु हुँदैन ।

विज्ञहरूका अनुसार पलिसार्बेटबाट एलर्जी भएकाहरूले अस्ट्राजेनेका वा जेन्सेनको खोप लगाउनु हुँदैन । पलिसार्वेट औषधि र मेकअपजस्तो उत्पादनमा पाइने सामान्य घटक हो । यो खोप गम्भीर र अस्पताल भर्ना भएका बिरामीमा ८५.४ प्रतिशत प्रभावकारी छ । खोप लगाएको २८ दिनपछि मध्यम र गम्भीर संक्रमणविरुद्घ ६६.९ प्रतिशत प्रभावकारिता देखिएको छ ।

कोभाक्स सुविधाबाटै अस्ट्राजेनेकाको कोभिसिल्ड खोप जुलाई महिनाभित्र नेपाललाई दिने जानकारी आएको डा. पोख्रेलले बताए । यो खोप कति मात्रा दिने हो भन्नेबारे हालसम्म यकिन भएको छैन ।

अस्ट्राजेनेकाको खोप आउनासाथ पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई लगाइनेछ । ६५ वर्षमाथिकाका लागि गत वर्ष फागुन २३ देखि सुरु भएको खोप अभियानअन्तर्गत करिब १३ लाख ६० हजार जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका छन् । उनीहरूले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here