२३ असार, काठमाडौं ।
नेपालका विभिन्न क्षेत्रमा मनसुनी वायु सक्रिय बन्दा यसले फेरि भारी वर्षा गराउने मौसमविदहरुले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनमा मुलुकभरका धेरैजसो स्थानमा पानी पर्नेछ, भने केही प्रदेशमा भारी वर्षासमेत हुनेछ ।
बुधबार दिउँसो देशका अधिकांश भूभागमा बदली रहनेछ । प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । यसैगरी, प्रदेश १ का एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना छ ।
राति पनि प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी र प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
बिहीबार देशका धेरै स्थानमा पानी पर्ने आँकलन गरिएको छ । जसमा प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।