बेलायतमा फेरि बढ्दै कोरोना संक्रमण

२२ असार, काठमाडौं ।

बेलायतमा पछिल्लो समय फेरि कोरोना संक्रमण बढ्दै गएको देखिएको छ । पछिल्ला २४ घन्टामा २७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २७ हजार ३३४ नयाँ संक्रमित थपिएका हुन् । संक्रमित संख्या एक सातामा २१ प्रतिशतले वृद्धि भएको हो ।

नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४९ लाख ३० हजार ५३४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ । संक्रमण दरमा वृद्धि भए पनि मृतक संख्यामा भने खासै फरक परेको छैन । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक लाख २८ हजार २३१ पुगेको छ ।

यसैबीच, बेलायतमा ७ करोड ९० लाख भन्दा बढी डोज खोप वितरण भएको छ । जुलाई ५ सम्मको तथ्यांक अनुसार यहाँ ६४ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८६ दशमलव १ प्रतिशतले पहिलो डोज लगाएका छन् ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा ७ करोड ९० लाख ७८ हजार ८१ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ५३ लाख ५१ हजार ७१९ जनाले पहिलो र तीन करोड ३७ लाख २६ हजार ३६२ जनाले दोस्रो डोज लगाएका छन् ।

बेलायतमा पछिल्लो समयमा कोरोना संक्रमण दरमा तीव्रता आएपनि सरकारले आगामी जुलाई १९ बाट लकडाउन सहज बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here