पहिरोले फेरि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

२१ असार, चितवन ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार रातिदेखि फेरि अवरुद्ध भएको छ ।

सो सडकखण्डको चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार सेतीदोभान पहिरो पन्छाएर गएराति पौने १० बजेबाट बाटो एकतर्फी खुलाइए पनि केहीबेरमै अबरुद्ध भएको हो ।

पहिरो खुलाउने प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान थापाले जानकारी दिए । पानी नपरे दुई–तीन घण्टामा खुलाउन सकिने उनले बताए ।

प्रहरीले अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । सडक बन्द हुँदा मुग्लिन र आँपटारी क्षेत्रमा दर्जनौं सवारीसाधन अलपत्र छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here