साबिककै पूर्ण हवाइ उडान माग गर्दै एओन

२१ असार, काठमाडौं ।

निजी हवाई कम्पनीहरुको स्वतन्त्र संस्था वायुसेवा सञ्चालक संघ (एओन) ले आर्थिक समस्या देखाउँदै सरकारसँग साविककै पूर्ण हवाई उडानको माग गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै संघले अहिलेको वर्षाको मौसममा देशभित्रका विभिन्न स्थानमा घट्ने घटनाका लागि राहत उद्धारमा आवश्यक उडान भर्नुपर्ने र ५० प्रतिशतको कोटाले यात्रु घट्न गई आम्दानी घटनाले खर्च धान्न मुश्किल हुने हुँदा पूर्ण उडान खुल्ला गर्नुपर्ने माग गरेको हो ।

‘अहिले परेको अविरल वर्षाले बाटोघाटोलाई विभिन्न ठाउँमा क्षति पुर्याएको छ । कहीँ डाइभर्सन बगाएको छ भने कतै पहिरो त कतै पुलमा क्षति । सर्वसाधारण यात्रुहरु विभिन्न ठाउँमा रोकिएका छन् । आउजाउमा निकै नै समस्या परिरहेको छ,’ विज्ञप्तीमा छ ।

विज्ञप्तीमा थप भनिएको छ, ‘हाल तोकिएको ५० प्रतिशत उडान संख्याले यात्रु उद्धार गर्न कठिनाई हुने देखिन्छ । उडान संख्या घट्ने बित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायु सेवा कम्पनीहरुले धान्नै नसकिने देखिन्छ । उडान संख्या कम हुने बित्तिकै सञ्चालन खर्च स्वतः बढ्न जान्छ । निषेधाज्ञा अगाडी झण्डै दैनिक १५ हजार हवाई यात्रुहरुले ओहोरदोहर गरेको रेकर्ड छ । यसो हुनुको मुख्य कारण सस्तो हवाई भाडादर र अधिक हवाई उडान नै हो ।’

एओनले हवाई उडानबाट संक्रमण नफैलिने अन्तर्राष्ट्रिय अध्ययनहरुले पनि पुष्टि गरेको भन्दै संक्रमणरहित हवाई यात्राका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा सरकारद्वारा निर्देशित निर्देशिकाको कडिकडाउ साथ पालना गर्ने प्रचिबद्धता पनि जाहेर गरेको छ ।

मास्कसहित ह्याण्ड सेनिटाइजर, मास्क र फेशशिल्डको अनिवार्य प्रयोग तथा उडानपिच्छै जहाजको संक्रमणरहित सरसफाईमा विशेष ध्यान दिएको विज्ञप्तीमा उल्लेख छ । ‘तसर्थ यस विषम परिस्थितिमा नेपाल वायु सेवा सञ्चालक संघ सरकारसँग हातेमालो गर्न तयार छ । हामी यसका लागि सस्तो भाडादर तथा सहज र संक्रमण नफैलिने तरिकाले उडान गर्न प्रतिवद्धता व्यक्त गर्दछौं । सहज र सस्तो उडानका लागि निषेधाज्ञा अगाडिकै उडान संख्या बढाइदिन हार्दिक अनुरोध गर्दछौं,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here