मेचीमा अब दैनिक ३५ सिलिन्डर अक्सिजन उत्पादन हुने

२० असार, झापा ।

मेची प्रादेशिक अस्पतालमा अक्सिजन उत्पादन सुरू हुने भएको छ । यसका लागि अस्पतालमा दैनिक ३५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ ।

अबको दुई दिनभित्र प्लान्ट जडान गर्ने कार्य सम्पन्न हुने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको र त्यसलगत्तै अक्सिजन उत्पादन सुरू गरिने अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए ।

उनका अनुसार प्रदेश नं. १ सरकारको रु. एक करोडको सहयोगमा सो प्लान्ट निर्माण भएको हो ।

प्लान्ट खरिदमा रु. ५५ लाख खर्च भएको र बाँकी रकम त्यसका लागि कोठा निर्माण तथा सिलिन्डर खरिदलगायतमा खर्च गरिने छ ।

झापामा निजी क्षेत्रका ठूला अस्पताल सञ्चालनमा रहे पनि त्यसले अक्सिजन प्लान्ट बनाएका छैनन् । अक्सिजन प्लान्ट बनाउनेमा मेची अस्पताल पहिलो स्वास्थ्य संस्था हो ।

अस्पतालले असार मसान्तभित्र सिटी स्क्यान मेसिन समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

सिटी स्क्यान सञ्चालनका लागि सरकारले रु. ६ करोड सहयोग गरेको छ ।

हाल पाँच वटा मृगौला डायलासिस मेसिन रहेको अस्पतालले चालू आर्थिक वर्षभित्रै थपेर १५ वटा पुर्याउने र छुट्टै भवनमा सञ्चालन गर्ने अध्यक्ष पोर्तेलको भनाइ छ ।

साविक मेची अञ्चलको सबभन्दा ठूलो सरकारी अस्पतालको रूपमा रहेको भद्रपुरको मेची अस्पतालले झापा, इलाम, पाँचथर र ताप्लेजुङका बिरामीलाई उपचार सेवा पुर्याउँदै आएको छ ।

नयाँ भवनमा सञ्चालन हुन थालेपछि एकैपटकमा ४५ जना मिर्गौला रोगीलाई डायलासिस सेवा पुर्याउन सकिने उनको भनाइ छ । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here