२० असार, काठमाडौं ।
आप्रवासी सवार एक डुंगा भूमध्यसागरमा डुबेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार डुबेको भनिएको उक्त डुंगामा युरोप जान लागेका विभिन्न मुलुकका नागरिक थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लिवियाको उत्तर पश्चिमी तट जुवाराबाट इटाली जान भनेर हिँडेको डुंगा ट्युनिसियाको सीमानजिक डुबेको हो ।
डुंगाको इन्जिन बिग्रिनु दुर्घटनाको कारण रहेको जनाइएको छ । उक्त दुर्घटनामा मृतकको संख्या ४३ छ भने अन्य ८४ जनालाई ट्युनिसियाको नौसेनाले उद्धार गरेको छ ।
डुंगामा इजिप्ट, सुडान, बंगलादेशलगायत मुलुकका नागरिकहरू सवार थिए ।
पछिल्लो समयमा इटाली हुँदै युरोप छिर्न खोज्ने आप्रवासी चढेका डुंगा दुर्घटना भएर धेरैले ज्यान गुमाएका छन् ।
मध्यपूर्व र अफ्रिकामा द्वन्द्वग्रस्त र गरिब मुलुकका नागरिकहरू ज्यानको बाजी लगाएर भूमध्यसागरबाट युरोप जान खोज्छन् ।
पछिल्लो समय यसरी इटाली पुग्नेहरूको संख्या केही घटेको थियो तर सन् २०२१ को सुरूदेखि त्यो संख्या फेरि बढेको छ ।
यो वर्ष अहिलेसम्म १९ हजार ८ सय मानिसहरू इटाली पुगेका छन् गत वर्ष यही समयमा त्यो संख्या ६ हजार ७ सय मात्र थियो ।