मनसुनी वायुको प्रभाव बिस्तारै कम हुँदै, वर्षा घट्ने मौसमविदको आँकलन

२० असार, काठमाडौं ।

मनसुनी प्रभाव केही कमजोर बनेपछि भारी वर्षाको क्रम पनि घटेको छ । करिब एक साता मुलुकका धेरै स्थानमा भारी वर्षा हुँदा बाढीपहिरोका कारण जनजीवन प्रभावित बनेको छ ।

तर, शनिबारबाट मनसुन केही कमजोर बनेको मौसमविद् बताउँछन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलले अघिल्ला दिनका तुलनामा मनसुनी वायुको कम प्रभाव रहने बताइन् ।

यद्यपि, मनसुनी वायुको प्रभाव कमजोर मात्रामा भए पनि केही दिन रहिरहने उनको भनाइ छ । ‘मनसुनी वायुको सक्रिय प्रभावले तीन दिनयता निरन्तर वर्षा र कतिपय स्थानभा भारी वर्षासमेत भएको छ, अबका दिनमा पनि मौसममा कहिले सुधार आउँछ भनेर यकिन भन्न सकिने अवस्था छैत तर अघिल्ला दिनको तुलनामा मनसुनको कम प्रभाव हुने विश्लेषण गरिएको छ,’ उनले भनिन् ।

आइतबार देशभर मौसम बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

सोमबार पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here