कन्काईको बाढीले बस्ती डुबानको खतरा

१९ असार, झापा ।

कन्काई नदीमा आएको बाढीले झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ५ को एउटा सिङ्गो बस्ती डुबानको जोखिममा परेको छ । सो क्षेत्रका कम्तीमा ५० घर रहेका छन् ।

हात्तिसार दक्षिणको भेलामुनि र बाल कल्याण आधारभूत विद्यालय पूर्वको मानव बस्ती बाढीको कटानका कारण उच्च जोखिममा परेको वडाध्यक्ष सत्यनारायण राजवंशीले बताए ।

बाढीबाट बस्ती जोगाउनका लागि निर्माण गरिएको बाँध शुक्रबार रातिदेखि परेको वर्षाका कारण आएको बाढीले कटान गर्न थालेपछि सो वडाको मानव बस्ती जोखिममा परेको वडाध्यक्ष राजवंशीले जानकारी दिए ।

राजवंशीले भने, ‘बाँधको अग्रभागमा ढुङ्गासहितको जाली निर्माण गरेर बनाइने भए पनि भित्री भाग बालुवा भएका कारण त्यस भित्रबाट पानी पसेर जतिसुकै बेला बाँध भत्किन सक्छ ।’

जनताको तटबन्ध कार्यालय गैंडे माइधारले गत वर्ष मात्र बाँध निर्माण गरेको उनले बताए । कटान र डुबानका कारण शिवसताक्षीको रिङरोड, विद्यालय, मठमन्दिर पनि जोखिममा छ ।

‘हामीले रेडक्रस, जिल्ला प्रशासन कार्यालय झापा र शिवसताक्षी नगरपालिकासहित सुरक्षाका सबै अंङ्गलाई यहाँको वस्तुस्थितिबारे जानकारी गराएका छौं,’ राजवंशीले भने ।

सम्भावित खतराबाट हुन सक्ने स्थानीयको व्यवस्थापनका लागि वडा कार्यपालिकाले आवश्यक तयारी सुरू गरेको राजवंशीले बताए ।

कनकाईको भंगालोको धार पहिले नै परिवर्तन गर्न सक्ने कुनै पनि उपाय सरकारी पक्षसँग छैन ।

नदीमा पानीको बहाव उच्च भएकाले नदीभित्र पसेर काम गर्न वा स्काभेटर प्रयोग गरेर कटान नियन्त्रणको कुनै उपाय अपनाउन नसकिने राजवंशीले बताए । बाढीले कटान नियन्त्रणका लागि बनाइएको बाँसको पाइलिङ बगाएको छ ।

उता गौरीगञ्ज गाँउपालिकाको वडा नम्बर १ कुन्जीबारी पूर्वको होकलबाडीमा कनकाईको पानी पस्न थालेको छ । केही घर डुबानमा परेको वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here