बालुवा बोकेको टिपर टहरामाथि खस्यो, सुतिरहेका दम्पत्तिको मृत्यु

१९ असार, काठमाडौं ।

राजधानीमा बालुवा बोकेको टिपर टहरामाथि खस्दा दुई जनाको ज्यान गएको छ । गोकर्ण रिसोर्ट नजिक थलीको ओरालोमा बालुवा बोकेको टिपर एक अस्थायी टहरामाथि पल्टिएको थियो ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बा ५ ख २५११ नम्बरको टिपर शनिबार बिहान सवा ४ बजे साँखु–चाबहिल सडक खण्डको थलीमा पल्टिँदा टहरामा सुतिरहेका श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा नुवाकोट घर भएका साइला तामाङ र जयन्ती तामाङ छन् ।

मृतक श्रीमान् श्रीमतीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । टहरामा पल्टिएको टिपर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले टिपर चालक गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ । थली ओरालोमा आफैं अनियन्त्रित भएर टिपर पल्टिएको चालक घलानले प्रहरीसमक्ष बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here