भजनीकी उपमेयरसहित ४ जनप्रतिनिधिलाई काम गर्न दिन सर्वोच्चको आदेश

१९ असार, काठमाडौं ।

सर्वोच्च अदालतले कैलालीको भजनी नगरपालिका उपप्रमुख छाँयादेवी देवकोटासहित चार जनप्रतिनिधिलाई काम कारबाही गर्न दिन आदेश दिएको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले उपप्रमुख देवकोटासहित गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका–४ की वडाध्यक्ष भागीरथी विष्ट र बर्दगोरीया गाउँपालिका–४ का वडाध्यक्ष पुरन बीसीलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

आदेशमा राजीनामा गरेको या अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको तथा उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी काम कारबाहीमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म आयोगको निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।

नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका स्थानीय जनप्रतिनिधिहरुलाई कारबाही गरेको थियो । त्यसअनुसार आयोगले ११ असारमा उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here