भोलिबाट रिट जारी हुनुपर्ने मागसहित सभामुखका कानून व्यवसायीले बहस गर्ने

१९ असार, काठमाडौं ।

प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतबाट सदर हुनुपर्ने माग गरेका सरकार पक्षको बहस शुक्रबार सकिएको छ । अब विपक्षी बनाइएका सभामुख अग्नि प्रसाद सापकोटाका कानून व्यवसायीले आइतबार दुई घन्टा बहस गर्नेछन् ।

सोमबारदेखि सरकारी पक्षबाट महान्यायाधिवक्ता रमेश बडालले बहसको सुरुआत गरेका थिए । इजलासले दिएको १५ घन्टमा उनीसहित सरकारी वकिल र रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिको कार्यालयका तर्फबाट निजी वकिलसले बहस गरे । सरकार पक्षबाट कूल ३२ जनाले ५ दिनमा बसह सकाएका छन् ।

यस अघि गत बुधबारबाट निवेदकपक्षका ३६ जनाले ४ दिनमा १२ घन्टाको समय लिएर बहस गरेका थिए ।

आइतबार विपक्षी बनाइएका सभामुख अग्नि प्रसाद सापकोटाका तर्फबाट बहस हुँदैछ । विपक्षी भए पनि उनका तर्फबाट ५ कानून व्यवसायीले प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने मागसहित बहस गर्नेछन् । उनका तर्फबाट वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लवकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ताद्वय मेघराज पोखरेल तथा श्रीकृष्ण सुवेदीले बहस गर्ने तय भएको छ ।

विघटन सदर हुनुपर्ने भनी विपक्षीले बहस गरे पनि सभामुखले पुनस्र्थापना हुनुपर्ने लिखित जवाफ सर्वोच्चमा बुझाएका थिए । विपक्षीलाई दिइएको १५ घन्टामा महान्यायाधिवक्ताले सभामुखका वकिललाई १ घन्टा समय दिएका थिए । तर उनीहरुले असन्तुष्टि जनाएपछि आधा घन्टा समय थप्न इजलास सहमत भएको थियो । उनीहरुको पटक–पटकको आग्रहपछि शुक्रबार भने प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बहसको अन्तिममा आइतबार सभामुखका वकिलका लागि भनी दुई घन्टा दिने बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ निवेदक रहेको यो मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले २६ जेठमा आदेश दिँदै ९ असारबाट निरन्तर सुनुवाइ गर्ने बताएको थियो । इजलासको नेतृत्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले गरेका छन् । इजलासमा वरिष्ठतम् न्यायाधीश दीपक कुमार कार्कीका साथै न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् ।

साताभित्र अदालतले निर्णय दिन सक्ने
यस मुद्दालाई अदालतले उच्च महत्व र गम्भीरतासाथ हेरेको अनुभूति आफूलाई भएकोले निर्णय सुनाउन पनि समय नलिने अपेक्षा गरेको निवेदकपक्षका कानून व्यवसायी तथा अधिवक्ता भीमार्जुन आचार्यले बताए । ‘इजलासबाट जसरी बहस गर्न समय छुट्याइयो, जुन तौरतरिका छ, त्यसबाट यसलाई गम्भीरतापूर्वक लिएको देखियो । अन्य मुद्दामा बहसपछि बहस नोट मागिन्छ, यसमा सुरुमै मागियो । उच्च महत्व दिइएकोले पनि छिटै निर्णय आउला भन्ने लाग्छ,’ उनले भने ।

आचार्यको कुरामा सहि थप्छन् निवेदकपक्षकै अर्का कानून व्यवसायी गोविन्द शर्मा बन्दि । भन्छन्, ‘आइतबार सभामुखका तर्फबाट दुई घन्टामा बहस सकिन्छ । टिब्रेकपछि हामीले जवाफि बसहका लागि ३ घन्टा पाएकोमा त्यहि दिए नसकिए सोमबार पनि जान सक्छ । सोमबार नै दुई घन्टा एमिकस क्युरीको बहस हुन्छ । त्यसपछि निर्णय दिन इजलासले धेरै समय नलगाउला ।’

अदालती मामिलाका जानकार मुद्दासम्बन्धित एक अधिवक्ताका अनुसार यसै साता सर्वोच्चले निर्णय दिने सम्भावना बलियो छ । ‘सोमबारसम्म बहस सकिएपछि बुधबारदेखि शुक्रबारसम्म फैसला आउने सम्भावना छ । यस पटक बहस नसकिँदै बहसनोट पनि पेस भइसक्यो । ढिला हुने कारण छैन । इजलासले पक्कै पनि एउटा आइडिया बनाउँदै गएको होला,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here