१८ असार, काठमाडौं ।
यसपटक मनसुनको सुरुवातमै ठूलो पानी पर्दा सिन्धुपाल्चोक र मनाङमा बाढीले धेरै क्षति पु¥यायो । ३१ जेठयता बाढीपहिरोका कारण २६ जिल्ला प्रभावित भएको र ती घटनामा ३३ जनाको मृत्यु भएको राष्ट्रिय आपद्कालीन कार्यञ्चालन केन्द्रको तथ्यांक छ ।
यसैगरी यस १८ दिनमा ३० जना बेपत्ता भएका छन् । केन्द्रका प्रमुख दिलकुमार तामाङका अनुसार बाढीपहिरोका कारण चार सय ७५ घरमा पूर्ण क्षति भएको छ । एक सय १२ घरमा आंशिक क्षति पुगेको छ । साढे ६ सय परिवार विस्थापित भएका छन् ।
मनसुन फेरि सक्रिय हुँदा बुधबारबाट देशभर पानी परेको छ । मध्य नेपाल केन्द्रित ठूलो वर्षा भएकोे छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले ठूलो वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए । ‘पानी त देशभर नै परिरहेको छ, तर मध्य नेपालमा झरीसहितको ठूलो पानी पर्दा बाढीपहिरोको जोखिम निम्त्याएको हो,’ उनले भने, ‘अझै तीन–चार दिनसम्म यस्तै रहन्छ ।’
महाशाखाका अनुसार प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा ठूलो पानी परेको छ । यो क्षेत्रमा शनिबारसम्म यो क्रम जारी रहने आकलन मौसमविद्ले गरेका छन् । बिहीबार सबैभन्दा बढी पानी चितवनमा परेको छ ।
त्यहाँ २४ घन्टामा ३९१ मिलिमिटर वर्षा मापन गरिएको छ । मौसमविद्हरू यसलाई भीषण वर्षा भन्ने गर्छन् । ठूलो पानी पर्दा बिहीबार भरतपुर क्षेत्रमा डुबान परेको थियो । स्थानीय खोलामा बाढी आएको थियो । यसैगरी, मकवानपुरमा २७७ र तनहुँमा २०७ मिलिमिटर वर्षा मापन भएको छ ।
शुक्रबार देशभर बदली रही प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकीका धेरै क्षेत्र र कर्णाली–सुदूरपश्चिमका केही स्थानमा पानी परिरहेका छन् । त्यसमा पनि प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकीका केही स्थानमा धेरै ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ । शनिबार प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकीका धेरै स्थानमा पानी पर्नेछ । प्रदेश १ का केही क्षेत्रमा भने ठूलो वर्षाको आँकलन गरिएको छ ।
यसैबीच, बाढीपहिरोका घटना बढ्न थालेपछि उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले आकस्मिक छलफल गरेका छन् । मन्त्रालयका सचिव र विपद् प्राधिकरणका पदाधिकारीसँग बिहीबार छलफल गर्दै पौडेलले अतिवृष्टिका कारण बाढीपहिरोले क्षति पुग्न सक्ने भएकाले न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन दिए । उद्धार, राहत र पुनस्र्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने उनको भनाइ थियो । राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनुपर्ने उनले बताए । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्रधानमन्त्री दैवीप्रकोप कोषमा पाँच अर्बभन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने बताए ।