बाढीपहिरोमा परेर ५ को मृत्यु, २४ घन्टामा बगे दुई पुल

१८ असार, काठमाडौं ।

बुधबारदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोले देशका अधिकांश भागको जनजीवन प्रभावित बनेको छ । बाढीपहिरो र चट्याङले चितवन र तनहुँमा गरी पाँचजनाको मृत्यु भएको छ । तीनजना बेपत्ता भएका छन् ।

वर्षासँगै आएको बाढीले सिरहामा कमला पुल र चितवनमा लदरी खोलाको पक्की पुल भत्काएको छ । तनहुँमा एक घर पहिरोले पुरेको छ । बाढीले चितवनको खैरहनी नगरपालिका–१ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा क्षति पु¥याएको छ । महोत्तरीका धेरै क्षेत्रमा बाढीको पानी पसेको छ ।

हुलाकी राजमार्गको सिराहा–धनुषा खण्ड जोड्ने कमला नदीको पुल बिहीबार भासिएको छ । सिराहा नगरपालिका– ६ बसपिट्टातर्फबाट पुलको दोस्रो पिलर भासिएको हो । १३ पिलर र १२ स्पानको निर्माणाधीन पुल ४२ महिनामा सक्ने गरी ०६८ जेठमा पप्पु लुम्बिनी बिल्डर्स जेभीले ठेक्का लिएको थियो ।

अविरल वर्षापछि आएको बाढीले हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल भासिएको छ । हुलाकी राजमार्गको सिरहा–धनुषाखण्ड जोड्ने बहुप्रतीक्षित कमला नदीको पुल बिहीबार दिउँसो भासिएको हो ।

सिरहा नगरपालिका–६ बसपिट्टा तर्फबाट पुलको दोस्रो पाया (पायर) भासिएको हो । १३ वटा पाया (पायर) र १२ स्पान (स्ल्याब)सहितको निर्माण भइरहेको पुलको सिरहातर्फबाट दोस्रो पाया भासिएको छ । करिब तीन मिटर पाया तल भासिएपछि स्पान ‘भी–टाइप’ आकृतिको बनेको छ ।

सिरहा–धनुषा जिल्ला जोड्न सिरहा नगरपालिका–६ बसपिट्टा घाटनजिकै ४७० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल ०६८ देखि निर्माणाधीन थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी २४ करोड ६२ लाख रुपैयाँमा पप्पु लुम्बिनी बिल्डर्स जेभीले ३१ जेठ ०६८ मा सम्झौता गरेको थियो ।

निर्माण कम्पनीसँग सम्झौता भएपछि तत्कालीन भौतिक पूर्वाधार यातायातमन्त्री हृदयेश त्रिपाठीले पुल निर्माणको शिलान्यास गरेका थिए । पुल निर्माण सुरु गरे पनि पटकपटक म्याद गर्दा पप्पु कन्स्ट्रक्सनले पुल निर्माणमा ढिलाइ गर्दा निर्माणको जिम्मेवारी लुम्बिनी बिल्डर्सलाई दिइएको थियो ।

हुलाकी सडक आयोजना कार्यालय जनकपुरधामका इन्जिनियर जयनाथ यादवले निर्माण कम्पनी पप्पुले कामको प्रगति देखाउन नसक्दा लुम्बिनी बिल्डर्सलाई निर्माण गर्न जिम्मेवारी दिएको बताए । सम्झौताअनुसार ३० मंसिर ०७१ सम्म निर्माण सकिनुपर्ने पुल ढिलाइ र बेवास्ताकै कारण १० वर्षदेखि निर्माणाधीन अवस्थामा छ ।

पछिल्लोपटक दुईपटक म्याद थपिएर पुल निर्माण ९५ प्रतिशत पूरा भएको थियो । प्रधानमन्त्री केपी ओलीले सिरहा सदरमुकाममा आयोजित एक कार्यक्रममा कमला नदीको पुल ०७७ वैशाखमै उद्घाटन हुने प्रतिबद्धता जनाएका थिए । उनले १८ माघ ०७५ माघमा आयोजित एक कार्यक्रममा प्रतिबद्धता जनाएको कमला पुल उद्घाटन हुनुपूर्व नै भासिएको छ । निर्माण नसकिँदै पुल भासिएपछि स्थानीय चिन्तित बनेका छन् ।

गृह मन्त्रालय र सतर्कता केन्द्रलाई पत्राचार
निर्माण सकेर उद्घाटनको तयारीमा रहेको पुल पानीको सामान्य बहावले भासिएपछि गुणस्तर छानबिन गरी कारबाही अघि बढाउन राष्ट्रिय सतर्कता केन्द्र र गृह मन्त्रालयलाई पत्राचार गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए ।

‘पुलमा सवारीसाधन नचल्दै भासिएकाले निर्माण कम्पनीले गलत डिजाइन वा डिजाइनविपरीत काम गरेको सम्भावना देखिएकाले राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेखेको बताउँदै उनले भने, ‘कमला पुलको मापदण्ड परीक्षण गर्नु अवश्यक छ ।’

कमला नदीमा पानीको बहाव बढेसँगै जिल्ला प्रशासन कार्यालय सिरहाले सतर्कता अपनाउन तटीय क्षेत्रका स्थानीयलाई आग्रह गरेको छ । डेढ मिटरभन्दा बढी पानीको बहाव बढेकाले सतर्कता अपनाउन सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाका तटीय क्षेत्रका स्थानीयलाई आग्रह गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी कँणेलले बताए ।

चितवनमा पहिरो र चट्याङले तीनको मृत्यु
लगातारको वर्षापछि आएको बाढीले पूर्वी चितवनको लदरी खोलाको पुल भत्काएको छ । लदरी खोलामा आएको बाढीले चितवनको खैरहनी नगरपालिका–२, धुसरीमा रहेको करिब २० मिटरको पक्की पुल भत्काएको हो । यो पुल दुई दशकअघि निर्माण गरिएको थियो । पुल भाँचिएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।

वर्षासँगै चितवनको राप्ती नगरपालिका–१२ का मोतीराम चेपाङको घर पहिरोले पुर्दा तीनजना बेपत्ता भएका छन् । चार बेपत्तामध्ये एकजना पुरुषको शव घटनास्थलभन्दा ५० मिटर तल फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

पहिरोले सडक अवरुद्ध हुँदा उद्धारका लागि पुग्नसमेत समस्या भएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिइन् ।

चितवनको कालिका नगरपालिका–११, दानेटार बस्ने ज्ञानबहादुर चेपाङ आफन्तकोमा जानेक्रममा एक्कासि खसेको पहिरोसँगै पानीले बगाउँदा मृत्यु भएको छ । यस्तै, आफ्नै घरनजिक धान रोप्ने क्रममा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी राप्ती नगरपालिका–९ लालपुरकी ४५ वर्षीया बिजुली श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउने क्रममा मृत्यु भएको थियो ।

बाढीका कारण सौराहा र आसपासका क्षेत्रसमेत प्रभावित बनेका छन् । खैरहनी नगरपालिका–१ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा समेत बाढीले क्षति पु¥याएको छ । उद्योगका सिलिन्डर बाढीले बगाएका छन् । उद्योगको संरचनामा समेत नोक्सान पुगेको छ । पानी पर्ने क्रम नरोकिएपछि भरतपुर महानगरपालिकाको वडा नम्बर ११ र १२ डुबानमा परेको छ ।

पहिरोमा परी तनहुँमा दुईको मृत्यु, तीन घाइते
पहिरोमा परी तनहुँमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका– ३ तामुङकी ७० वर्षीय हरिमाया नेपाली र ३० वर्षीय सरस्वती थापा छन् । बुधबारदेखि परेको अविरल वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परी उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले बताए ।

‘भिरालो ठाउँमा भएकाले पनि घर पहिरोको उच्च जोखिममा रहेछ । दुई दिनदेखि निरन्तर पानी परिरहेको छ । अत्यधिक वर्षाका कारण पहिरो खस्दा घर पुरिन पुगेको हो, जसका कारण दुईजनाले ज्यान गुमाउनु प¥यो,’ उनले भने ।

पहिरोमा परी तीनजना घाइते भएका छन् । घाइते हुनेमा बन्दीपुर गाउँपालिका– ३ तामुङका ६६ वर्षीय लीलबहादुर थापा, उनकी श्रीमती ६५ वर्षीय दाउरीमाया थापा र ३५ वर्षीय छोरा सुभास थापा छन् । उनीहरूको दमौली अस्पतालमा उपचार भइरहेको उपरीक्षक तिमल्सिनाले बताए । त्यस क्षेत्रमा पहिरोले पाँच घरमा क्षति पु¥याएको थियो ।

मृतक सरस्वती थापाका देवर सुभास थापाले दिनभरिको काम सकेर राति सबैजना खाना खाएर सुतेपछि अविरल वर्षापछि आएको पहिरोले दुखद घटना भएको बताए । ‘खाना खाँदा रातको दश बजिसकेको थियो । थकाइ लागेकाले सबैजना सुत्ने तर्खरमा लागियो । आमा र भाउजू एउटा कोठामा सुत्नुभयो, बाबा र म अर्को कोठामा । राति ११ बजेपछि ठूलो पानी पर्न थाल्यो । हामी सुत्यौँ । बिहान ३ बजेतिर घरमाथिबाट पहिरो खस्यो । बाबालाई पहिरोले च्याप्यो मैले बोलाएँ, तर बाबा बेहोस भएकाले बोल्न सक्नुभएन । मेरो पनि हात च्यापेको थियो । मैले केही गर्न सकिनँ,’ उनले भने, ‘पहिरो गएको हल्ला गाउँलेले थाहा पाएछन् । त्यसपछि ४ बजे उनीहरू आएर हामीलाई उद्धार गरे । आमा र भाउजू एउटै खाटमा सुत्नुभएको थियो । आमा, बाबा र म बाँच्न सफल भयौँ, तर भाउजूलाई बचाउन सकिएन ।’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here