हत्या आरोपमा आमाछोरा पक्राउ

१६ असार, बर्दिया ।

जिल्लामा एक पुरूषको हत्या गरेको आरोपमा श्रीमती र छोरा पक्राउ परेका छन् ।

सोमबार साँझ बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ बादरधरियाका ३८ वर्षीय लक्षिराम थारूको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

हत्या आरोपमा प्रहरीले उनकी श्रीमती ३८ वर्षीया सीता थारू र १८ वर्षीय छोरा आकाश थारूलाई पक्राउ गरेको छ ।

मृतक लक्षिराम थारूले रक्सी खान भन्दै श्रीमती सीतासँग एक सय रुपैयाँ मागेको र सोही विषयमा उनीहरूबीच झगडा भएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

झगडापछि कुटपिट हुँदा लक्षिराम थारु घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको भन्ने खबरपछि ईलाका प्रहरी कार्यालय ढोढरीबाट टोली खटिएको थियो ।

टोलीले मृतककी श्रीमती सीता र आकाशलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई मंगलबार जिल्ला अदालत बर्दियामा उपस्थित गराइको प्रहरीले जनाएको छ ।

अदालतले उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रहरीले घटनामा थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here