१६ असार, काठमाडौं ।
जीवन विकास लघुवित्तको आइपिओमा अहिलेसम्मकै सबैभन्दा धेरैको आवेदन परेको छ ।
बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको आइपिओमा २० लाख ८३ हजारको आवेदन संकलन भएको छ । साथै बैंकबाट भर्नेहरुको संख्या आउनै बाँकी रहेकाले अझै धेरै हुन सक्ने क्यापिटलले जनाएको छ ।
कम्पनीले कुल १९ लाख ७७ हजार ३ सय कित्ता प्राथमिक सेयर निष्काशन गरेको हो । जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ ।
कम्पनीको प्राथमिक सेयर जम्मा १ लाख ८४ हजार ८ सय १ जनाले पहिलो १० कित्ताका दरले पाउने छन् । त्यसपछि ५ कित्ता बाँकी रहन्छ ।
यो ५ कित्ता छुट्टै दिन नमिल्ने व्यवस्था अनुसार १० कित्ता पाउनेमध्येबाटै ५ जनाले थप १–१ कित्ता अर्थात कुल ११–११ कित्ता पाउने छन् ।
कम्पनीको वित्तीय स्थिति अरु लघुवित्तको तुलनामा मजबुत देखिएको छ । आव २०७६–७७ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १०४ रुपैयाँ ९७ पैसा छ ।
त्यस्तै प्रतिसेयर नेटवर्थ नै ३०७ रुपैयाँ छ । कम्पनीको सञ्चित नाफा नै ३५ करोड ४२ लाख रुपैयाँ छ । कम्पनीको निष्क्रिय कर्जा चैत मसान्तसम्म ०।६० प्रतिशत छ ।
मोरङको कटहरीम प्रधान कार्यालय रहेको कम्पनीको देशभर १ सय ३८ स्थानमा शाखा तथा उपशाखा कार्यालय संचालनमा छ ।
योपछि अब मनकामना स्मार्ट लघुवित्तको प्राथमिक सेयर असार १७ गतेदेखि खुल्ने भएको छ । लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको यस लघुवित्तको प्रधान कार्यालय भैरहवामा छ ।
कम्पनीको आइपिओमा छिटोमा असार २१ गतेसम्म बिक्री खुल्ला हुनेछ । कम्पनीले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुने कुल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
जसमध्ये ६ हजार ५८ कर्मचारीका लागि र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ । कम्पनीको आइपिओलाई इक्रा नेपालले डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।