१६ असार, नवलपरासी ।
अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ ।
गएराति आएको बाढीले नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित डाइभर्सन बगाएको हो ।
कल्भर्ट निर्माणका लागि बनाइएको डाइभर्सन नै बगाएपछि बुधबार बिहान साडे ४ बजेदेखि नै बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले सडक अवरूद्ध रहेको बताए ।
अहिले पनि पानी परिरहेकोले डाइभर्सन मर्मत गरी सडक सुचारू गर्न समय लाग्ने भएको छ ।