निरज यादव/प्रदेशपालिका
१६ असार, सर्लाही ।
सदरमुकाम मलंगवा नगरपालिका मातहतकै एक स्वास्थ्य चौकीको अवस्था अहिले दयनीय भएको छ ।
स्थानीयहरुको उपचारको लागि भनी स्थापना भएको मलंगवा ७ मुसैलीस्थित वडा स्वास्थ्य चौकीको वर्तमान अवस्था बिरामी परेझैँ देखिएको स्थानी सुजित यादव बताउँँछन् ।
मलंगवा बजारवाट झन्डै ३ किलोमिटर पर रहेको उक्त स्वाथ्य चौकी संरक्षणको अभावमा लथालिङ्ग परेको यादवले बताए । स्वास्थ्य चौकीका इन्चार्ज शालिक मिकरानीको लापरवाहीले गर्दा उक्त स्वास्थ चौकी बेवारिसे भएको स्थानीयको आरोप छ ।
जनप्रतिनिधिको बेवास्ताका कारण २÷३ महिना यता उक्त स्वास्थ चौकीको अवस्था यस्तो भएको हो । स्थानीय सरकारको बेवास्ताका कारण उक्त स्वास्थ्य चौकी अहिले डम्पिङ साइटजस्तो देखिन थालेको छ ।
भवनको छत ठाउँठाउँमा भत्किएको छ भने पर्खालमा चिरा परेका छन् । न बस्ने ठाउँ सफा र सुरक्षित छ त न औषधि राख्ने ¥याक नै गतिलो छ । फर्निचरका सामान पनि काम नलाग्ने भइसकेका छन् ।
स्वास्थ्य चौकी भत्किएको र मर्मत गर्नुपर्ने भनी स्थानीयले बारम्बार यहाँका जनप्रतिनिधिलाई भन्दा पनि सुनुवाइ भएको छैन । यसबारेमा बारम्बार वडाध्यक्ष प्रमोद यादवलाई जानकारी गराए पनि उनले मेयरलाई भन्नु भन्दै टार्ने गरेका छन् ।
स्वास्थ्य चौकी व्यवस्थित नहुँदा र स्वास्थ्यकर्मी समेत नहुँदा स्थानीयले निःशूल्क पाउनुपर्ने सामान्य रोगको औषधीसमेत लिन पाइरहेका छैनन् । प्राथमिक स्वास्थ्य सेवाबाट उनीहरु वञ्चित छन् । साधारण चोटपटक वा स्वास्थ्य समस्या भएमा पनि उनीहरुलाई मलंगवा बजार जानुपर्ने बाध्यता छ ।
मलंगवा नजाने स्थानीयहरुलाई गाउँकै औषधी पसलबाट महँगोमा औषधी किनेर खानुपरेको स्थानीय युवा यादवले भने ।
स्वास्थ चौकी मर्मत तथा सुधार गर्नका लागि वडासँग बजेट नभएको पनि होइन । वडा अध्यक्षले सडक निर्माण तथा स्तरोन्नतिको लागी छुट्याइएको बजेटबाट कटौती गरी घरघरमा हैण्डपम्प बाँडेर भोटको राजनीती गरिरहेको स्थानीयहरु आरोप लगाउँछन् ।
वडा अध्यक्षले आफ्नो मनोमानी गर्दै विभिन्न क्षेत्रमा छुट्याइएको बजेटको दुरुपयोग गरिरहेको सुजित यादवले बताए ।
स्वास्थ्य चौकी जस्तो सार्वजनिक ठाउँमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा सेवाग्राहीहरुलाई पानी खान एउटा कल समेत नरहेकोले त्यसको प्रबन्ध मिलाइदिन कर्मचारीहरुले वडाध्यक्षलाई आग्रह गर्दा उनले बेवास्ता गरेका थिए । वडाध्यक्षले ‘मेयरलाई भन्नुस्’ भनेर पञ्छिएको कर्मचारी बताउँछन् ।