१५ असार, मनाङ ।
बाढीले मनाङको नासो गाउँपालिकाको कार्यालय पूर्ण रुपमा विस्थापित भएको छ । गाउँपालिकाको कार्यालय रहेको धारापानी बजार बाढीले बगाएपछि लमजुङको बेंसीशहरमा अस्थायी कार्यालय राखेर सेवा दिन थालिएको छ ।
जेठ ३१ गते राति अविरल वर्षासँगै मर्स्ङ्दी नदीमा आएको बाढीले कार्यालयसमेत बगाएपछि गाउँ कार्यपालिका बैठकले बेंसीशहरमा आपतकालीन कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम अहिले नासो गाउँपालिकाको सेवा बेंसीशहरबाट दिइँदै आएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए ।
बाढीले सदरमुकाम चामे जाने पुल बगाएको र विद्युत नभएको अवस्थामा बेंसीशहरबाट कामकाज गर्ने गरी केन्द्र स्थापना गरिएको घलेले बताए । गाउँपालिकाले कारोबार गर्ने बैंक बेंसीशहरमा रहेकाले पनि आपतकालीन कार्यालय सञ्चालन गर्न सहज भएको प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मीले बताए ।
‘आर्थिक वर्ष अन्तिममा आएको छ, योजनाको भुक्तानी गर्नुपर्नेछ, राहतको व्यवस्थापन सहजीकरण गर्नुछ, त्यसैले कार्यपालिका बैठकले बेंसीशहरमा आपतकालीन कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो,’ उनले भने ।
राहत वितरण गर्न पुगेका हेलिकप्टरसँग सहकार्य गरी गाउँपालिकाका कर्मचारीलाई बेंसीशहर लगिएको हो ।