१५ असार, महोत्तरी ।
जिल्लाको मनरासिस्वा नगरपालिकामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
नगरपालिकाको छुट्टाछुट्टै ठाउँमा चट्याङ् खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकमा वडा नम्बर ४ साढा निवासी प्रेमशिला देवी र वडा नम्बर ५ कटैया निवासी विषेश्वर राय छन् । ८० वर्षीय राय भैंसी चराउन जाँदा र ५९ वर्षीया प्रेमशिलाले खेतमा मल छर्दै गर्दा चट्याङ खसेको थियो ।
दुवैको घट्नास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए ।
यस्तै, मनरासिस्वा नगरपालिका वडा नम्बर ४ मै चट्याङ् लागेर एक जना घाइते भएका छन् । भैंसी चराउन गएकी स्थानीय कारी यादवकी १२ बर्षीया छोरी आशा कुमारी घाइते भएको प्रहरीले जनाएको छ ।
उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । यादवको भैंसीको भने चट्याङ् लागेर घटनास्थलमै मृत्यु भएको छ ।