फेरि नगरसभा गरिनुपर्ने उपप्रमुख चौधरीको माग

१५ असार, पर्सा ।

जिल्लाको पर्सागढी नगरपालिकाको उप प्रमुख अर्चना चौधरीले पुनः नगरसभा गर्नुपर्ने माग राखेकी छन् । असार १० गते विधि र प्रक्रिया मिचेर गरिएको नगरसभा गरिएको बताउँदै उनले त्यस्तो माग राखेकी हुन् ।

नेपाल पत्रकार महासंघ वीरगञ्ज शाखामा सोमबार पत्रकार सम्मेलन गर्दै उनले नगर सभामा उप प्रमुखको उपस्थिति हुँदा हुँदै अरु मानिसबाट विधेयकहरु प्रस्तुत गर्न लगाएको गुनासो उनको छ ।

‘नगर सभामा उप प्रमुखले नीति कार्यक्रम तथा बजेट र विधेयकहरु पेश गर्न पाउनुपर्ने हो, नीति कार्यक्रम नगर प्रमुख स्वयंले प्रस्तुत गर्नुभयो, बाँकी कार्य मलाई गर्न दिनुहुन्छ होला भनेको त कार्यक्रम उदघोषकलाई नै दिनुभयो,’ उनले भनिन् ‘नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर अधिकारबाट वञ्चित गर्ने काम भयो, असंवैधानिक र गैरकानुनी कार्य खारेज हुनुपर्छ ।’

नगर सभामा पेश गरिने नीति, कार्यक्रम तथा बजेट, विधेयक, नियमावली र निर्देशिकाहरु कार्यपालिका बैठकबाट पास गर्नुपर्नेमा त्यसो नगरिएको उनको भनाई छ । असार १० गतेको नगर सभामा उपप्रमुख चौधरी केहिबेर बसेर निस्केकी थिइन् ।

‘उपप्रमुख हुँदा हुँदै बाहिरका मनिसलाई विधेयकहरु सभमा पेश गर्न लगाईयो, मान प्रतिष्ठा नै नरहेपछि बस्नु उचित नठानेर निस्किएको हुँ,’ उनले भनिन् । अधिकार हनन भएकोले पत्रकर सम्मेलन गर्न बाध्य भएको उनले बताइन् ।

बहुमत सदस्यले बहिस्कार गरेको दावी
पत्रकार सम्मेलनमा बहुमत वडा सदस्यहरुले नगर सभा बहिस्कार गरेको दावी समेत गरिएको छ । वडा सदस्य अरुण प्रकाश रेग्मीले बहुमत वडा सदस्यहरुले नगरसभा बहिस्कार गरेको तर नगर प्रमुख लोकनारायण यादव पेलेर अघि बढेको दावी गरे ।

‘जेठ २६ गते ३२ जना वडा सदस्यले ११ बुँदे माग सहितको ज्ञापनपत्र नगर प्रमुखलाई बुझाएका थियौं, आव ०७४÷०७५ देखिको आय व्यय विवरण, पूँजीगत र साधरण खर्चको विवरण, नगरपालिकाद्वारा सञ्चालित क्वारेन्टीनमा भएको खर्च, कोरोनामा वितरण गरिएको राहत लगायतको विवरण माग गर्नुको साथै वडामा १ करोडको बजेट पठाउन भनेका थियौं ।’

उनले भने, ‘तर नगर प्रमुख एकलौटी ढंगले अघि बढी रहनुभएको छ । वडामा वडा अध्यक्षहरु हावी छन् । पारदर्शी हुन चाहनुभएन, त्यसैले नगर सभा बहिस्कार गरेका हौं ।’

५० जना कार्यपालिका सदस्य रहेको पालिकामा २७ जना सदस्यहरु आफ्नो पक्षमा रहेको दावी उनको छ । असन्तुष्ट सदस्यहरुलाई मनाउने प्रयास गर्दा नमानेपछि बहुमत कार्यपालिका सदस्यहरुको उपस्थितिमा नगर सभा गरिएको नगर प्रमुख यादवले बताए ।

‘नगरसभा शुरु भईसकेपछि उपप्रमुख आएर एकछिन बसेर जानुभयो, पछि गर्छु भनेर उपस्थितिमा हस्ताक्षर समेत गर्नुभएन,’ उनले भने ‘उल्टै बाहिर गएर हो–हल्ला गराउने काम गर्नुभयो, विधि र प्रक्रिया अनुसार नै नगर सभा सम्पन्न गरेका छौं, बहुमत सदस्यको उपस्थितिामा नगर सभा भएको छ ।’

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा सभाको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ । नगर सभामा ३२ जना सदस्यले हस्ताक्षर गरेको दावी नगर प्रमुख पक्षको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here