किम दुब्लाउँदा उत्तर कोरियाली चिन्तामा

१४ असार, काठमाडौं ।

आफ्ना नेता किम जोङ उन दिनदिनै दुब्लाउँदै गएपछि उत्तर कोरियाली जनता चिन्तित बनेका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार गत शुक्रबार उत्तर कोरियाको सरकार नियन्त्रित केआरटी टेलिभिजनमा प्रसारण भएको अन्तर्वार्तामा राजधानी प्योङयाङका एक बासिन्दाले दुब्लाउँदै गएका किमलाई देखेर आफूहरू भावुक हुने गरेको बताएका छन् ।

विदेशी विश्लेषकहरूले ३७ वर्षीय किमको स्वास्थ्यमा समस्या भएको हुन सक्ने बताइरहेका बेला उत्तर कोरियाको सरकारी टेलिभिजनमै उनको स्वास्थ्यबारे टिप्पणी भएको हो । सामान्य अवस्थामा उत्तर कोरियाका सञ्चारमाध्यमले किमको स्वास्थ्यबारे सामग्री प्रकाशन÷प्रसारण गर्दैनन् ।

प्योङयाङका ती वासिन्दाले आफूहरूले किमको हालैको एउटा भिडिओ हेरेको र त्यसले आफूहरूलाई चिन्तित बनाएको बताएका छन् ।

‘आदरणीय महासचिव (किम जोङ उन) दुब्लाउँदै गएको देखेपछि हाम्रो मन निकै दुःखेको छ,’ उनले भनेका छन्,‘सबै जनाका आँखा भरिएका छन् ।’

केही समयअघि वर्कर्स पार्टी अफ कोरियाको बैठकपछि किम र पार्टीका अन्य पदाधिकारी सहभागी एउटा कन्सर्टको भिडिओ प्योङयाङका सडकमा ठूला पर्दा राखेर देखाइएको थियो ।

किम किन दुब्लाउँदै गएका हुन् भन्नेबारे सरकारी मिडियाहरूले केही खुलाएका छैनन् ।

केही समयको अन्तरालपछि जुन महिनाको सुरूमा किम सरकारी मिडियामा देखिएपछि दक्षिण कोरियाको सउलस्थित एनके न्युजले उनले नाडी मसिनो भएको र पहिलाभन्दा घडी निकै कसेर बाँधेको विश्लेषण गरेको थियो ।

तानाशाही तरिकाले उत्तर कोरियामा शासन चलाइरहेका किमबारे अन्तर्राष्ट्रियस्तरमा निकै चासो छ । अन्तर्राष्ट्रिय मिडिया, गुप्तचर र विश्लेषकहरूले उनको स्वास्थ्य नियालिरहेका हुन्छन् ।

गत वर्षको सुरूमा उनी आफ्ना हजुरबुवा किम इल सङको जन्मजयन्ति समारोहमा उपस्थित नभएपछि उनको स्वास्थ्यबारे निकै अड्कलबाजी भएका थिए ।

पछिल्लो समय उत्तर कोरियामा खाद्यान्नको अभाव भइरहेका विवरणहरू आएका छन् ।

अन्तर्राष्ट्रिय समुदायको कडा प्रतिबन्ध र कोरोनाभाइरसका कारण चीनसँगको सीमा बन्द भएकाले उत्तर कोरियाको भोकमरी फैलन सक्ने अनुमान गरिएको छ । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here