१४ असार, काठमाडौं ।
प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट सरकार पक्षको बहस सुरु हुँदै छ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सुरुवाती बहस गर्नेछन् ।
बहसका लागि बडाललाई ३ घण्टा समय छुट्याइएको छ । ‘म ३ घण्टा बहस गर्छु’ महान्यायाधिवक्ता बडालले भने, ‘म भन्दा पछि अरु सरकारी वकिल साथीहरुले बहस गर्नुहुन्छ ।’
संवैधानिक इजलासले सरकार पक्षलाई तोकेको १५ घण्टा समय मध्येबाट सभामुख अग्नि सापकोटाका कानुन व्यवसायीका लागी १ घण्टा छुट्याइएको छ ।
बाँकी १४ घण्टा मध्ये सरकारी वकिलले ७ घण्टा र प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले ७ घण्टा बहस गर्नेछन् ।
असार ९ बाट संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन मुद्दामा निरन्तर सुनुवाई भइरहेको छ । जसमा सुरुआती बहस आइतबार सकिएको छ । जस क्रममा ३६ जनाले बहस गरे ।
विघटनविरुद्ध शेरबहादुर देउवासमेत १ सय ४६ सांसदले हालेको रिटको सुनुवाइ प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दिपक कुमार कार्की, मीरा खड्का, डा. आनन्दमोहन भट्टराई र ईश्वर खतिवडाले गर्दैछन् ।