१४ असार, काठमाडौं ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) अन्तर्गतका प्राविधिक कार्यक्षेत्रमा फर्किने भएका छन् । शनिबार प्राधिकरणमा भएको वार्ता र छलफलपश्चात इञ्जिनियरहरु कार्यक्षेत्रमा खटिन सहमत भएका हुन् ।
सञ्चार, यातायात तथा स्थानीय भत्ता उपलब्ध गराउने, प्राविधिकलाई आवश्यक पर्ने तालिमका साथै विभिन्न निकायमा व्यवस्थापन गर्न पहल गर्नेलगायतका सहमति भएपछि उनीहरु काममा फर्किन सहमत भएका हुन् ।
छलफलपछि प्राधिकरणका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंह र आन्दोलनरत प्राविधिकको तर्फबाट अविनाश अमरले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिपछि अमरले आफ्ना सबै माग पूरा भएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण प्राविधिक काममा खटिने र असार मसान्तभित्र कार्यप्रगति देखाउने प्रतिवद्धता व्यक्त गरेको प्राधिकरणले जनाएको छ ।