१४ असार, काठमाडौं ।
प्रतिनिधि सभा विघटनविरुद्धको सुरुआती बहस समाप्त भएको छ । बहसको अन्तिम दिन आइतबार १६ कानून व्यवसायीले प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने भनी बहस गरेका थिए ।
वरिष्ठ अधिवक्ताहरु कृष्ण प्रसाद भण्डारी, सविता भण्डारी, बाबुराजा जोशी, बाबुराम कुँवर, चन्द्रकान्त ज्ञवाली, नरहरि आचार्य, यदुनाथ खनालसहितले बहस गरेका थिए । साथै पदम रोक्का, उमेश गौतम, शंकर सुवेदी, एकराज पोखरेलसहितले प्रतिनिधि सभा विघटन बदर गरी शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिनुपर्ने पक्षमा बहस गरे ।
सुरुआती बहसमा १२ घन्टाको समय लिएर ३६ जनाले बहस गरेका छन् ।
आइतबारको बहसको अन्तिममा महान्यायाधिवक्ताले आफू बोल्ने भन्दै समय लिए । उनले विपक्षीसमेत बनाइएका सभामुख अग्निप्रसाद सापकोटाका कानून व्यवसायीले रिट जारी हुनुपने पक्षमा बहस गर्ने भएकाले समय विभाजनमा सहमति नभएको बताए ।
‘वहाँले रिट निवेदन जारी गरिपाउँ भनेर लेख्नुहुन्छ भने त वहाँ रिट निवेदक हो । वहाँहरु रिट निवेदक एकापट्टि हो, हामी खारेज गरिपाउँ एकापट्टि हौँ । हामीले वहाँलाई एक घन्टा दिने भन्यौँ । तर वहाँहरु मान्नुभएन,’ उनले भने ।
उनको जवाफ दिँदै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले भने, ‘रिट निवेदकले मान्नुभएन भने हेरौँला । यहाँले दिनुभएको एक घन्टा दिनुस्, पुगेन भने अन्तिममा आधा घन्टा हामी थपौैँला ।’ विपक्षीलाई वा रिट निवेदन खारेज गर्ने पक्षलाई १४ घन्टा समय दिने भन्दै प्रधानन्यायाधीश जबराले इजलास सोमबारसम्मका लागि स्थगित भएको जानकारी गराएका थिए ।