१२ असार, रौतहट ।
जिल्लाको मौलापुरमा खेतमा पानी लगाउने विषयमा शनिबार बिहान झडप हुँदा १५ जना घाइते भएका छन् ।
मौलापुर नगरपालिका–१ स्थित मर्यादपुरमा मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा भएको झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
एसपी शाहका अनुसार साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएका छन् । उनीहरुको मौलापुरमै उपचार भइरहेको र सबै खतरामुक्त रहेको एसपी शाहले बताए ।
‘घटनामा संलग्न सबै घाइते भएका छन् । अहिले सबैको अवस्था खतरामुक्त छ, उपचार भैरहेको छ,’ एसपी शाहले भने ।
दोहोरो झडपका कारण मर्यादपुर केही समय तनावग्रस्त बनेको थियो । घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको छ । अहिले अवस्था सामान्य भैसकेको एसपी शाहले बताए ।