इटालीबाट नेपाललाई स्वास्थ्य सामग्री प्राप्त

१२ असार, काठमाडौं ।

नेपाललाई कोरोना महामारीको दोस्रो लहर विरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ ।

ती उपकरण तथा सामग्री शुक्रबार विहानै नेपाल आइपुगेका थिए । इटाली नेपाल सरकारको सहायताको अपीललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाउने युरोपियन युनियनका १२ सदस्य राष्ट्र मध्येको एक राष्ट्र हो ।

अन्य राष्ट्रहरुमा स्पेन, फिनल्यान्ड, फ्रान्स, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रीया, माल्टा, डेनमार्क र आयरल्यान्ड रहेका छन् । लिथुवेनिया र जर्मनीबाट अरु थप सहयोग आउने अपेक्षा गरिएको छ । इटालीले उपलब्ध गराएका राहत उपकरणमा २० भेन्टिलेटर, ६,००० आइसोलेशन गाउन र १०,००० प्रोटेक्टिभ कवरल्स् समावेश छन् ।

नेपालका लागि इटालीका राजदूत भिन्सेन्जो डी लुकाले भने, ‘यस चुनौतीपूर्ण समयमा इटाली कोरोना भाइरसविरुद्धको लडाईमा अग्रपंक्तिमा रहेको छ । यसलाई गत २१ मेमा रोममा युरोपियन कमिसनसँगको सह–आयोजनामा आयोजित विश्वव्यापी स्वास्थ्य सम्मेलनले पनि पुष्टि गरेको छ । इटालीको ब्रिन्डिसीमा अवस्थित संयुक्त राष्ट्रसंघको मानविय प्रतिकार्य डिपो (यूएनएचआरडी) विश्वको कुनै पनि ठाउँमा हवाई उडानमार्फत मानवीय सहायता पठाउनका लागि महत्वपूर्ण सावित भएको छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटालीका लागि कन्सुलर प्रतिमा पाण्डे र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले लामो समयदेखिको मित्र र साझेदारका रुपमा युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरुले यस कठिन समयमा नेपाललाई यस्तो सहयोग प्रदान गरिरहेको बताइन् । यी सामग्रीहरु तथा जनस्वास्थ्यका उपायहरूले नेपालीहरुको अमूल्य जीवन बचाउँन मद्दत पु¥याउने विश्वास लिएको पनि उनले बताइन् ।

अन्य दाताहरुको सहकार्यमा युरोपियन युनियनले सामग्रीहरुको वितरण तथा प्रयोगलाई अनुगमन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here