यस वर्ष पनि किसानलाई मलको अभाव हुने

१२ असार, काठमाडौं ।

यस वर्ष पनि धानबालीका लागि आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव हुने भएको छ । साउनको दोस्रो सातादेखि धान गोडेर मल हाल्ने (टप ड्रेसिङ)को समयमा युरिया मलको अभाव हुने भएको हो ।

मल आपूर्तिका लागि आह्वान गरिएको ग्लोबल टेण्डरमा कुनै पनि आपूर्तिकर्ता सहभागी भएनन् । सरकारद्वारा सरकारलाई(जीटुजी) अन्तर्गत मल उपलब्ध गराउने विषयमा भारत सरकारसँग पहल भइरहेको छ ।

मल आपूर्तिका लागि ग्लोबल टेण्डर र जीटुजीको प्रक्रियामध्ये कुनै सुनिश्चित नभएको हुँदा मलको अभावको श्रृंखला यो वर्ष पनि देखिनेछ । समयमै कुनै पनि प्रक्रियामार्फत मलको जोहो गर्न नसकिए यो वर्ष पनि किसान मलको लागि चर्को सास्ती व्यहोर्न बाध्य हुनेछन् ।

ग्लोबल टेण्डरबाट मल ल्याउन कम्तीमा ७ महिना लाग्न सक्छ । विश्व बजारमा रासायनिक मलको मूल्य बढ्दै गएको र आपूर्तिकर्ताको हकमा लागू भएको ‘कारोबारमा लाग्ने आयकर’ का कारण पनि विदेशी आपूर्तिकर्ता बिच्किएर बोलपत्रमा सहभागिता नजनाउँदा मल आपूर्ति प्रणाली प्रभावित भएको हो ।

केही महिना अघिसम्म प्रतिटन ३ सय ७५ डलर रहेको युरियाको मूल्य अहिले प्रतिटन ६ सय डलर पुगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आगामी साउनदेखि गहुँवालीको सिजनसम्मलाई कम्तीमा १ लाख ३० हजार टन युरिया र ७० हजार डीएपी मलको माग छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here