जर्ज फ्लोयडको हत्या गर्ने पूर्वप्रहरी अधिकृतलाई साढे २२ वर्ष जेल

१२ असार, काठमाडौं ।

जर्ज फ्लोयडको घाँटी थिचेर हत्या गरेको अभियोग लागेका अमेरिकाका पूर्व प्रहरी अधिकारीलाई २२ वर्ष ६ महिना जेल सजाय सुनाइएको छ ।

मे २०२० मा अमेरिकाको मिन्नियापोलिसमा डेरेक चाउभिनले ४८ वर्षका फ्लोइडको घाँटी थिचेका थिए । नौ मिनेटसम्म चाउभिनले फ्लोइडको घाँटीमा घुँडाले टेकेका थिए ।

न्यायाधिसका अनुसार चाउभिनले पदको दुरुपयोग गरेको तथा फ्लोइडमाथि क्रुरता देखाएका कारण यस्तो सजाय तोकिएको हो । फ्लोइडको मृत्युसँगै विश्वभर रंगभेद र प्रहरी दमनविरुद्ध आन्दोलन चर्किएको थियो । त्यसयता, गत वर्ष ४५ वर्षीय चाउभिनविरुद्ध सेकेन्ड डिग्री मर्डर र अन्य अभियोगहरु लगाइएको थियो ।

अन्य तीन पूर्व प्रहरी अधिकारीहरुलाई पनि अलग–अलग रुपमा जर्ज फ्लाईडको मानव अधिकार हनन गरेको भन्दै मुद्दा चलाइएको थियो । फ्लोइडको परिवार र उनका समर्थकहरुले यो फैसलाको स्वागत गरेका छन् ।

फ्लोइडकी बहिनी बिग्रेट्ट फ्लोइडले भनिन्, ‘प्रहरी दमनका घटनालाई पनि अत्यन्त गम्भीर रुपमा लिइन्छ भनेर यो सजायले देखाएको छ । तर अझै लामो बाटो बाँकी नै छ ।’

सुनुवाईका क्रममा फ्लोइडका भाई टेरेन्स फ्लोइडले अधिकतम उपलब्ध सजाय अर्थात् ४० वर्षको सजाय दिन माग गरेका थिए ।

‘किन ? तिमी के सोच्दै थियौं ? जब तिम्रो घुँडा मेरो दाईको घाँटीमा थियो, तब तिम्रो टाउकोमा के चलिरहेको थियो ?’ उनले भनेका थिए ।

फ्लोइडकी ७ वर्षिया छोरी जियन्नाको भिडियो रेकर्डिङ पनि अदालतमा पेश गरिएको थियो । जियन्नाले आफ्ना बाबुलाई निकै मिस गरिरहेको बताइन् । ‘म उनीबारे सधैं सोधिरहन्छु,’ उनले भनिन्,‘मेरो ड्याडीले सधैं मलाई दाँत माझ्न सहयोग गर्नुहुन्थ्यों ।’

न्यायाधिसले समुदाय र देशकै लागि यो प्रकरण पीडादायी भएको बताए । तर सबैभन्दा ठूलो पीडा फ्लोइडको परिवारले व्यहोर्नुपरेको उनले बताए ।

‘यो सजाय भावना वा सहानूभूतीमा आएर गरिएको होइन । तर, यही समय म यो स्विकार्न चाहन्छु कि सबै परिवारले दर्दनाक पीडा भोगेका छन्, विशेषगरी फ्लोइडको परिवारले,’ न्यायाधीश पिटर चाहिलले भने । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here