स्वयंसेवी संस्था भिसिएनद्वारा राहत वितरण

११ असार, काठमाडौं ।

स्वयंसेवी संस्था भोलेन्टियर कर्प्स नेपाल (भिसिएन)ले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी पीडितलाई राहत वितरण गरेको छ ।

गत असार १ गतेको भिषण बाढी र पहिरोले हेलम्बु र मेलम्ची क्षेत्रलाई नराम्रोसँग प्रभावित गरेको छ । उक्त प्रकोपका कारण केहीको मृत्यु भएको छ भने केही बेपत्ता छन् । बाढीका कारण थुप्रै स्थानीय घरवार बिहिन भएका छन् ।

भिसिएनले सामाजिक उत्तरदायित्वलाई महसुस गरी बाढी प्रभावित क्षेत्रमा राहत कार्यलाई अघि बढाएको संस्थाका अध्यक्ष दीपक चापागाईले बताए ।


यस संस्थाले हाल देशभर फैलिएको कोभिड–१९ को दोस्रो महामारीको अवस्थामा सावर्स एक्सन हङ, चीन (Sowers Action Hong, China) को सहयोगमा स्वास्थ्य केन्द्र एवं अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चाहिने स्वास्थ्य सामग्री, बिरामीको लागि अक्सिजन सिलिन्डर, कन्सन्टेटरका साथै कोभिड आइसोलेसन सेन्टर स्थापना जस्ता कार्यहरु पनि गरिरहेको छ ।

सिन्धुपाल्चोकमा एकाएक उत्पन्न विषम परिस्थितिमा बाढी पीडितहरूको लागि भिसिएनको टोली सम्बन्धित क्षेत्र हेलम्बु गाउँपालिकाको चुरेटार र क्युलमा गणेशे बगरबाट बिस्थापित भई पालमा आश्रित एक सय घरपरिवारलाई राहत बितरण गरेको छ ।

सावर्स एक्सन हङ, चीनको सहयोगमा बितरण भएका सामानहरुमा बत्ती, सय बोरा चामल, दाल, तेल, नुन, खाना पकाउने कराई लगायत भाडाकुँडा एक परिवार एक सेट रहेका छन् ।

संस्थाका अध्यक्ष चापागाईले यो राहत सानै भए पनि पीडित परिवारलाई ठूलो मद्दत गर्ने बताएका छन्। उनले राहत प्राप्त गर्न नसकेका केही परिवारलाई थप राहतका लागि प्रयास गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here