११ असार, रौतहट ।
जिल्लाको मौलापुर नगरपालिकाको १० औं नगरसभाका क्रममा विवाद बढेर झडप भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्रसहितका दलहरुले नगरसभा बिथोल्न खोजेपछि बिहीबार झडप भएको हो ।
नगरसभामा पूर्वमन्त्री प्रभु साहलाई प्रमुख आतिथ्यता ग्रहण गराएपछि विवाद थप चर्किएको थियो । नगर प्रमुख रिना कुमारी साह पूर्वमन्त्री साहकी पत्नी हुन् । विपक्षी दलहरुले यसअघि नगरपालिकामा अनियमितता भएको आरोप लगाउँदै आएका थिए । नगरसभामा पूर्वमन्त्री साहलाई निम्त्याइएपछि विवादले थप राजनीतिक रङ लिएको हो ।
जसपाका स्थानीय नेता धिरज पटेलले नगरपालिकाभित्र अनियमितता भएको र पूर्वमन्त्री साहसमेतले नगरपालिकामा अनावश्यक राजनीतिक हस्तक्षेप गर्न थालेपछि आफूहरु विरोधमा उत्रिएको बताए ।
दुई पक्षबीच झडपमा केही घाइतेसमेत भएका छन् । झडपलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई दर्जनभन्दा बढी राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।
मौलापुर– ६ का वडाध्यक्ष उपेन्द्रप्रसाद जयसवालले विधि र पद्धतिलाई मिचेर अपारदर्शी तरिकाले नगरसभा गर्न खोजेपछि आफूहरु विरोधमा उत्रिएको बताए ।
तर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले नगरसभाको मिति निर्धारण गर्नु अघिनै चालु आर्थिक वर्षको सम्पूर्ण हिसाब सार्वजनिक गरिसकेको दावी गरे । नगरपालिकाको कुनै पनि हिसाब माग गर्दै लिखित रूपमा निवेदन आएमा आफूहरु सहजरूपमा हिसाब देखाउन तयार रहेको उनको भनाइ छ ।
मेयर रिना कुमारी साहले मौलापुर नगरपालिका प्रदेश २ मै विकासको गतिमा सबैभन्दा अगाडि रहेको दाबी गरिन् । उनले विकास विरोधीहरुले विभिन्न बहानामा निहुँ खोज्ने काम गरेको आरोप लगाइन् ।
विरोध प्रदर्शनकै बीच नगरसभा बैठक चलेको थियो । नगरसभा चलिरहँदा बाहिर ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।