११ असार, काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । खोला वरपर र जोखिमयुक्त स्थानका बासिन्दालाई सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका एक÷दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले ती स्थानहरूका पहाडी भू–भागमा पहिरो र गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको हो ।
महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
यसैगरी आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक÷दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
राति भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।