१७ गतेका लागि राष्ट्रिय सभाको बैठक आह्वान

११ असार, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक असार १७ गते बिहीबार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।

सरकारले असार १० गते राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि राष्ट्रिय सभाको अधिवेशन २०७७ पुस २६ गते अन्त्य भएको थियो ।

संसद अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसकारण ६ महिना पुग्नुभन्दा करिब १० दिनअघि असार १७ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान भएको हो । राष्ट्रिय सभा भने विघटन नहुने संवैधनिक व्यवस्था छ ।

आह्वान भएको राष्ट्रिय सभा अधिवेशन कति समय चल्छ यकिन छैन । विगतको अभ्यास हेर्ने हो भने पुस ५ मा प्रतिनिधि सभा विघटन गरेर बोलाइएको राष्ट्रिय सभा जम्मा १० दिन चलेको थियो । १० दिनमा चार बैठक बसेर, सात घन्टा पाँच मिनेट छलफल गरेर अधिवेशन अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here