११ असार, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् ।
संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिश गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो ।
गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिश गरेको थियो ।
संवैधानिक परिषदले सिफारिश गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ समिति क्रियाशील नभएको भन्दै उनीहरुको सीधै नियुक्ति भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्यहरुमा हरि पौडेल र सुमित्रा श्रेष्ठ छन् । यसैगरी लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी र सदस्यहरुमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी छन् ।
निर्वाचन आयोगको सदस्यमा सगुनसम्शेर जबरा छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा विपिनराज निरौला नियुक्त भएका छन् भने राष्ट्रिय महिला आयोगका सदस्यहरुमा जया घिमिरे, सावित्राकुमारी शर्मा र सुन्दर पुर्कोटी छन् ।
राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सेना छन् भने सदस्यहरुमा पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री छन् । आदिवासी जनजाति आयोगको सदस्यमा सूर्यबहादुर गुरुङ नियुक्त भए । यसैगरी मधेशी आयोगको सदस्यमा आभा कुमारी नियुक्त भएकी छन् ।
थारु आयोगको सदस्यमा उमाशंकर प्रसाद चौधरी र शान्ति मोदी छन् । मुस्लिम आयोगमा मोहम्मद समशुल हकलाई सदस्यका रुपमा नियुक्त गरिएको छ ।