१० जेठ, रौतहट ।
जिल्लाको मौलापुर नगरपालिकाका स्थानीयले बुधबार प्र्रदर्शन गरेका छन् । उनीहरुले विकास निर्माणको कार्यमा अवरोध गरिएको विरोधमा प्रदर्शन गरेको जनाएका छन् ।
नगरभित्रका हजारौं महिला पुरुष उक्त प्रदर्शनमा स्वस्फूर्त सहभागी भएका थिए । कुनै पनि बहानामा विकास रोक्न पाइदैन भन्ने संदेशका साथ मौलापुरमा भएको जनप्रदर्शनले विकासप्रति जनतालाई पुनः जागृत बनाएको प्रदर्शनमा सहभागीले बताए ।
मौलापुर नगरपालिकाको पाँचौं नगरसभाको पुर्वसन्ध्यामा केही व्यक्तिहरुले विभिन्न बखेडा झिकेर नगरसभा प्रभावित गर्न खोजेको भन्दै प्रत्येक वडाहरु बाट आएका महिला पुरुषले नारा जूलूस लगाउंदै मौलापुर बजार परिक्रमा गरेका थिए । प्रत्येक बर्षझैँ यस पटक पनि आर्थिक बर्ष २०७८÷०७९ को पाँचौ बजेट अधिवेशनको लागि मौलापुर नगरपालिकाले अगामी १० गते तिथि निर्धारण गरेको नगरप्रमुख रिनाकुमारी साहले बताइन् ।
नगर कार्यपालिका बोर्डको निर्णय अनुसार अगामी १० गते हुने नगरसभा सफल बनाउन जिल्ला तथा स्थानीय अतिथी लाई निम्तो गर्नुका साथै विभिन्न मिडियामा प्रचारप्रसार समेत भैरहेको छ ।
तर बिगतमा विभिन्न विकासको रकम दुरुपयोगको आरोप लागेका केही जनप्रतिनिधिहरुले नगरपालिकाविरुद्ध अनर्गल प्रचार गरिरहेको उपमेयर गौरीशंकर जयसवालले बताए । नगरपालिकाले विकासमा गति लिनु सकारात्मक रहेको उनको भनाइ थियो ।
‘नगरपालिकाको कुनै पनि विकास निर्माण अथवा गतिविधि बारे जानकारी लिन लिखित निवेदन आएमा सोको जानकारी दिन सदैव हामी तत्पर छौँ । तर कानुनी रूपमा कोहि न आएर नगरसभालाई प्रभावित बनाउनेहरुको मनसाय देखेर नगरका जनता प्रतिकार स्वरुप सडकमा उत्रिनु परेको हो,’ उप मेयर जयसवालले स्थानीयलाई धन्यवाद दिँदै भने ।
नगरपालिकाले नगरका किसानलाई निःशूल्क बीउ, निःशुल्क सिचाइ, निशुल्क ग्यास सिलिन्डरसहितको चुलो, दलितलाई घर र छात्रालाई ल्यापटप, साईकल आदि वितरण गर्ने गरेको छ । यसैगरी दिउँसो विवाह गर्ने परिवारलाई प्रोत्साहन स्वरुप २५ हजार नगदजस्ता कार्यक्रम संचालन गर्दै आएको छ ।
मौलापुरमा प्राबिधिक शिक्षाको पढाई, निषेधाज्ञामा दलित गरिबलाई राहत, खेत–खेतमा विद्युतीकरण , प्रदेश २ मै प्रहिलो पटक मौलापुरमा ७५ बिगहा जग्गामा लैण्डपुलिङ अर्थात जग्गा एकिकरण जस्ता योजना अगाडि बढाएर पिछडिएको क्षेत्रलाई केन्द्र बनाएको मेयर साहको दाबी छ ।