ईंटाभट्टाले बनाएको खाल्डोमा डुबेर दाजुभाइको ज्यान गयो

१० असार, सर्लाही ।

ईट्टाभट्टाले बनाएको खाडलमा जमेको पानीमा डुबेर एकै घरका दुई जनाको मृत्यु भएको छ । मृतक दुवै दाजुभाइ हुन् ।

मलंगवा नगरपालिका–११, गम्हरिया निवासी सद्दाम अन्सारीका छोराहरु ८ वर्षीय रेआज अन्सारी र ६ वर्षीय नेआज अन्सारीको मृत्यु भएको हो । प्रहरीका अनुसार बाख्रा चराउन गएको बेला पल्सी भन्ने ठाउँमा ईट्टाभट्टाले खन्दा बनेको खाडलमा जमेको पानीमा पौडी खेल्न दुई दाजुभाई सँगै पसेका थिए ।

बुधबार बिहान साँढे ११ बजे दुई दाजुभाई डुबेपछि उनिहरुसँगै बाख्रा चराउन गएका अर्का बालकले हल्ला गरेपछि गाउँलेले घटनाबारे थाहा पाएका थिए ।

तत्काल ईट्टाभट्टामा काम गरिरहेका मजदूर र गाउँले मिलेर डुबेका दुई बालकलाई निकालेर उपचारका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा पुर्याएका थिए । अस्पतालमा पुर्याउँदा उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

ईंटाभट्टाको सञ्चालकको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here