हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

९ असार, बारा ।

विश्रामपुर गाउँपालिका–२ भरवलिया टोल बस्ने २५ वर्षीय भादो भन्ने वीरेन्द्र बैठालाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा फेटा गाउँपालिका–३ फुलवरिया टोल बस्ने ३५ वर्षीय पारस महतो धानुक र बिश्रामपुर गाउँपालिका–२ बरैनिया टोल बस्ने ७२ वर्षीय दास बाबा भन्ने वीर बहादुर यादव रहेको प्रहरीले जनाएको छ ।

असार ३ गते बिहान बिश्रामपुर गाउँपालिका–२ बरैनिया बजारमा कुटपिट गरी हत्या गरेको अवस्थामा बाटो छेउमा बैठाको शव फेला परेको थियो । घटनाको थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहित तत्काल जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरुलाई सोमबार पक्राउ गरेको सार्वजनिक गरेको छ ।

मृतक वीरेन्द्रले असार ३ गते विश्रामपुर गाउँपालिका–२ बरैनिया बजारस्थित हुनमान मन्दिमा गाँजा तथा पैसा चोरी गर्ने उद्देश्यले आउँदा मन्दिरका पुजारी वीरबहादुले टाउकोमा चिपिया (साधुले प्रयोग गर्ने फलामको चिम्टा)ले प्रहार गरेका थिए ।

त्यसपछि घाइते भई लडेका विरेन्द्रलाई सोही मन्दिरमा सुत्ने गरेका पारस समेतले बाँसको भाटाले प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अपराधबाट बच्ने उद्देश्यले शव उक्त बजारमा लगि फालेका थिए ।

उनीहरुमाथि ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here