पदमुक्त मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले भने : आत्तिएर मन्त्री निवास र गाडी नछाड्नुस्, समाधान खोजौँला

९ असार, काठमाडौं ।

सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास र गाडी सुविधा छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन् ।

सर्वोच्च अदालतबाट मंगलबार अन्तरिम आदेश आएपछि साँझ सरकारी निवास बालुवाटारमा मन्त्रीहरूलाई बोलाएर उनले यसो भनेका थिए ।

साथै ओलीले अदालतको आदेश अप्रत्याशित भए पनि समाधान खोजिनेसमेत बताए । उनले अन्तरिम आदेश आए पनि आत्तिएर निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएको एक मन्त्रीको भनाइ छ ।

‘अदालतले हामी सबैलाई अप्रत्याशित लाग्ने गरी अन्तरिम आदेश जारी ग¥यो । तर, आत्तिनुपर्दैन, यसको वेआउट (समाधान) निकालिन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘दैनिक सरकारी कामकाज त गर्न मिलेन, तर निवास छाडिहाल्नुपर्दैन, अहिलेलाई त्यहीँ बस्दा हुन्छ । तपाईंहरूले झन्डा छोपेर गाडी पनि प्रयोग गर्न सक्नुहुन्छ ।’

पछिल्लोपटक नियुक्त भएका २० मध्ये १५ मन्त्री पुल्चोक निवासमा बसिरहेका छन् ।

प्रधानमन्त्री ओलीको त्यस्तो निर्देशन आएपछि मन्त्रीहरू भने आश्चर्यमा परेका थिए । प्रधानमन्त्रीले बोलाएको अनौपचारिक छलफलमा जसपाबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू झन्डा हल्लाएरै बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा पुगेका थिए ।

अदालतको अन्तरिम आदेशपछि २१ र २७ जेठमा नियुक्त भएका १८ मन्त्री र दुईजना राज्यमन्त्री पदमुक्त भएका छन् । प्रधानमन्त्रीसहित एमालेका पाँच मन्त्रीले मात्र मन्त्रिपरिषदमा निरन्तरता पाएका छन् ।

अनौपचारिक छलफलमा बोलाए पनि प्रधानमन्त्री ओलीले औपचारिक बिदाइ नगरेकोमा पनि पदमुक्त मन्त्री आश्चर्यचकित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here