फलफूल विकास केन्द्रको किवि चोरेर कार्यालयभित्रै मदिरा उत्पादन

९ असार, दोलखा ।

जिल्लाको भीमेश्वर नगरपालिका–८ स्थित शितोष्ण फलफूल रुटस्टक विकास केन्द्रको कार्यालयभित्रै मदिरा उत्पादन गर्ने गरिएको पाइएको छ । स्थानीयले केन्द्रभित्रै उत्पादन भएको किवि चोरेर मदिरा उत्पादन गरिएको आरोप लगाएका छन् ।

कृषिसँग सम्बन्धित फलफूल तथा अन्य नगदेबालीको विकासका लागि स्थापना गरिएको कार्यालयभित्रै मदिरा उत्पादन गर्ने गरिएको तथ्य सार्वजनिक भएको छ ।

कार्यालयका निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका कर्मचारी विनोद रोक्काको नेतृत्वमा घरेलु मदिरा उत्पादन गर्दै गरेको अवस्थामा प्रहरीले कच्चा पदार्थसहित ३७ लिटर मदिरा नियन्त्रणमा लिएको छ । कार्यालय परिसरमा उत्पादन हुने किबिको घरेलु मदिरा बनाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कार्यालय प्रमुखकै नेतृत्वमा मदिरा उत्पादन गर्दै गरेको सूचना प्राप्त भएपछि प्रहरीले टोली परिचालन गरेको थियो । दोलखाका प्रहरी निरीक्षक अञ्जान कोइरालाको नेतृत्वमा बोच पुगेको टोलीले ३७ लिटर तयारी मदिरासहित कच्चा पदार्थ र आवश्यक भाँडाकुँडा नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी भेषराज रिजालका अनुसार सरकारी कार्यालयभित्रै भट्टी नै बनाएर मदिरा उत्पादन गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।

उनले फौजदारी केस नभएर निजामती सेवासम्बन्धी कसुर भएकाले जिल्ला प्रशासन कार्यालय पठाइएको जानकारी दिए । यसबारे जानकारी लिन खोज्दा कार्यालयका निमित्त प्रमुख विनोद रोक्काको टेलिफोन सम्पर्क हुन सकेन । उनले प्रयोग गर्ने कार्यालयको र व्यक्तिगत दुवै फोन स्विच अफ गरेका छन् ।

शीतोष्ण फलफूल रुटस्टक विकास केन्द्रमा किबी, अलैँचीलगायत अन्य थुप्रै प्रजातिका फलफूल लगाइएको छ । उत्पादित फलफूलहरू कार्यालयले नियमअनुसार बिक्री वितरण गर्ने प्रणाली भए पनि गत मंसिरमा ठूलो परिमाणमा किबी फल चोरी भएको भन्दै सूचना सार्वजनिक गरेको थियो । तर, स्थानीयहरूले भने सोही किबी लुकाएर अहिले मदिरा उत्पादनमा प्रयोग गरेको आरोप लगाएका छन् ।

उनीहरूले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी लिएपछि रोक्काले आर्थिक वर्षको अन्त्य सुरु हुँदै गर्दा लाखौँको कोटेसनसमेत कमिसन लिएर बाँडेको आरोपसमेत लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले भने प्रहरीले लिखित रूपमा घटनाको विवरण बुझाएकाले थप अध्ययन भइरहेको जनाएको छ । आरोपित रोक्कालाई निजामती सेवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने र कार्यान्वयनका लागि कृषि विभाग पठाइने कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here