७ असार, रामेछाप ।
मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेल र स्वास्थ्य शाखाका कर्मचारीहरूबीच सेटिङ नमिल्दा स्वास्थ्य सामग्री खरिदका लागि खोलिएको टेन्डर नै रद्द गरेका छन् ।
मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेल र स्वास्थ्य शाखाका कर्मचारीबीच रकम कोलमको विषयमा कुरा नमिल्दा टेन्डर रद्द गरेका हुन् ।
स्रोतका अनुसार पालिकाले खोलेको टेन्डरमा २२ वटा फर्म बिक्री भएकोमा आठवटाले मात्रै दर्ता गराएका थिए । कार्यालयमा आठवटा फर्म दर्ता भए तापनि पालिकाका प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाका कर्मचारीको मिलेमतोमा उक्त ठेक्का नै रद्द गरेको मेरिजमा मेडिकल सप्लायर्सका प्रोपाइटर नवीन बुढाथोकीले जानकारी दिए ।
उनले भने, ‘मन्थली नगरपालिका कर्मचारीहरूको मिलोमतोमा यसअघि पनि तीनवटा मात्रै फर्म दर्ता गराएर स्वास्थ्य सामग्री खरिदमा लाखौँ रकम घोटाला गरेका छन् । यसअघि औषधि उपकरण खरिद गर्ने जिम्मेवारी पाएका फर्मले ठेक्का सकिएको महिनौँ बितिसक्दा पनि अहिलेसम्म औषधि मन्थली नगरपालिकामा बुझाएका छैनन् ।
आफ्नो मान्छेको फर्म परे स्वीकृत गर्ने र त्यहाँबाट कमिसन खान पल्केका कर्मचारीले बाहिरका फर्म दर्ता भए पनि टेन्डर नै रद्द गर्नुपर्नेसम्मको गलत नियतले काम गरेको प्रोपाइटर बुढाथोकीले बताए ।
मन्थली नगरपालिकाले अत्यावश्यक निःशुल्क औषधि, सेनेटरी प्याड तथा स्वास्थ्य सामग्री खरिदसम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना जेठ २६ गते दैनिक पत्रिका सूचना प्रकाशन गरेको थियो । सोही सूचनाको आधारमा विभिन्न आठवटा सप्लायर्स फार्मले टेन्डर मन्थली नगरपालिकामा दर्ता गराएका थिए । नगरपालिकामा दर्ता भएका आठवटा फर्म खोल्दै नखोली पालिकाले टेन्डर रद्द गरेको हो ।
मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाका कर्मचारीहरूको मिलोमतोमा चालू आर्थिक वर्ष ०७७÷७८ मा टेन्डर प्रक्रिया नै नगरी करोडौँ मूल्यबराबरका स्वास्थ्य सामग्री कोटेसन विधिबाट खरिद गरेका छन् । प्रमुख र स्वास्थ्य शाखाका कर्मचारीले टेन्डरविना नै भक्तपुरमा रहेको मेरिगोल्ड इन्टरनेसनल सप्लायर्सलाई दिँदै आएका छन् । कार्यालय प्रमुख र स्वास्थ्य शाखाका कर्मचारीले मेरिगोल्ड इन्टरनेसनल सप्लायर्सबाट लाखौँ रुपैयाँ कमिसन लिँदै आएको स्रोतको दाबी छ ।