७ असार, काठमाडौं ।
यूईएफए युरोकप फुटबलमा आज राति चार खेल हुँदै छन् । आज एकै दिन समूह ‘बी’ को दुई र समूह ‘सी’को दुई खेल हुनेछन् ।
आज राति पौने १० बजे समूह ‘सी’का दुई खेल हुनेछन् भने मध्यराति पौने १ बजे समूह ‘बी’का दुई खेल हुनेछन् ।
समूह ‘सी’को अन्तिम चरणको खेलमा समान ३ अंक भएका युक्रेन र अष्ट्रिया भिड्नेछन् ।
समूह चरणकै अर्को खेलमा सोही समयमा समूह चरणबाट बाहिरिइसकेको नर्थ मेसेडोनियाले अन्तिम १६ मा पुगिसकेको नेदरल्याण्डको सामना गर्नेछ ।
नेदरल्यान्ड एक खेलअगावै यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ ।
आजै हुने समूह ‘बी’को अन्तिम चरणको खेलमा शीर्षस्थानको बेल्जियमले तेस्रो स्थानको फिनल्यान्डसँग खेल्नेछ ।
नकआउट चरणमा पुगिसकेको बेल्जियमले आजको खेलमा बराबरी मात्रै गरे पनि समूह विजेता बन्नेछ । बेल्जियमलाई पराजित गरे फिनल्याण्ड अघिल्लो चरणमा पुग्नेछ ।
यदि बेल्जियमसँग फिनल्याण्ड पराजित भएमा वा बराबरीको अवस्थामा समूह चरणकै अर्को खेलको नतिजा कुर्नुपर्नेछ । समूह चरणकै अर्को खेलमा रसिया र डेनमार्क भिड्दैछन् ।