दल फेर्ने १४ जना माओवादीबाट निष्कासित

७ असार, काठमाडौंं ।

दल परिवर्तन गरेका वा अर्को दलको सदस्यता लिएकाहरु नेकपा माओवादी केन्द्रबाट निष्कासित भएका छन् । स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने औपचारिक निर्णय भएको बताइएको छ ।

सोमबार भर्चुअल विधिबाट बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उनीहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णयलाई औपचारिकता दिएको हो । माओवादी केन्द्रबाट चुनाव जितेका र पछि एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि छन् ।

यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो ।

तर, आयोगले केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।

केन्द्रीय समिति बैठकमा मेलम्चीबाट सहभागी भएका केन्द्रीय सदस्य युवराज दुलाल ‘शरद’ले पार्टी त्यागेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णयलाई औपचारिकता दिइएको बताए ।

माओवादी नेता देव गुरुङले दल फेरेकाहरुलाई कारबाही गर्ने निर्णय यस अघि नै भइसकेकोले निर्वाचन आयोगलाई ताकेता गर्ने निर्णय भएको बताए ।

पार्टीबाट हटाइएका नेताहरुकोबारेमा दल त्यागको सूचना निर्वाचन आयोगले प्रकाशित नगरेको भन्दै आइतबार माओवादी केन्द्रका नेताहरुले आयोग पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

माओवादी केन्द्रबाट निस्कासित हुनेहरुमा मौलापुर नगरपालिका प्रमुख रिनादेवी साह र उपप्रमुख गौरीशंकर जयसवाल छन् । रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा, फतुवाविजयपुरकी उपप्रमुख कान्तीदेवी र गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी छन् । सोही जिल्ला मानवनारायण नगरपालिका उपप्रमुख सिमल साह, यमुनामाई गाउँपालिका उपप्रमुख गीतादेवी साह पनि निष्कासित भएका छन् ।

सिरहाको लहान नगरपालिकाका कार्यपालिका सदस्य सतमीलाल दास ताती र महोत्तरीको सम्सी गाउँपालिका प्रमुख शेष फारुकलाई माओवादीले निष्कासन गरेको छ । कैलाली भजनी नगरपालिका उपप्रमुख छाया देवकोटा, गौरीगंगा नगरपालिका ४ की वडाध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका १ का वडाध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका ४ का वडाध्यक्ष पुरन बिसिलाई निष्कासित गरिएको हो । साथै ओखलढुंगाको चम्पादेवी गाउँपालिका १ का वडाध्यक्ष सुरेश कुमार थापा पनि निष्कासनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here