भेरी अस्पतालका डाक्टर र नर्स कुट्ने ३ जना ५० हजार धरौटीमा रिहा

७ असार, बाँके ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सक र नर्समाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका तीनजना जनही ५०÷५० हजार रुपैयाँ धरौटी तिरेर छुटेका छन् ।

बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले चिकित्सक र नर्समाथि कुटपिट मुद्दाका आरोपी दाङका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई आइतबार धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाका अनुसार गत जेठ १३ गते बेलुकी दाङ तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५४ वर्षीय कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारको क्रममा मृत्यु भएपछि तीनै जना आक्रोशित बनेका थिए ।

उनीहरुले उपचारमा लापरबाही भएको आरोप लगाउँदै अस्पतालमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए । उनीहरुमध्ये मानबहादुर मृतकका भाइ र दुईजना छोरा हुन् ।

भेरी अस्पतालमा भएको उक्त घटनाको चौतर्फी विरोध भएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here